प्रधानसेनापति थापाले गरे जितगढी किल्लाको स्थलगत निरीक्षण
वि.सं.२०७५ पुस ४ बुधवार २३:४७
shares

प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार बुटवलस्थित जितगढी किल्लाको स्थलगत अवलोकन गरेका छन् । सो अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व. कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेकोलगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका थिए ।
उनले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र तत्कालीन अवस्थाको युद्धकला झल्किने सङ्ग्रहालयका लागि पनि सहयोग गर्न प्रधानसेनापतिसमक्ष आग्रह गरे ।
प्रधानसेनापति थापाले उपमहानगरले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफूहरुले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेन क्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावलीलगायतका क्षेत्रलाई जोडेर इतिहास जीवित राख्ने क्षेत्रका रुपमा विकास गरिने अवधारणा ल्याइएको छ ।
सेनापति थापाले नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्ला, सामरिक महत्वका क्षेत्र, गढीलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिए । नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले नौ फिट उचाइको तामाको पूर्णकदको शालिक र नौ फिट उचाइकै झण्डा बनाएर राख्ने जनाएको छ ।
वि.सं. १८७२ वैशाख ७ गते जितगढीमा अङ्ग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवससमेत मनाउन थालेको थियो । जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

























