द्वन्द्वपीडितको पक्षमा कानुन बन्दैछ : कानुनमन्त्री
वि.सं.२०७५ पुस ५ बिहीवार १५:०७
shares

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई सम्बोधन गर्ने गरी सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको बताएका छन् । मानव अधिकारका लागि महिला, एकल महिला समूहले काठमाडौंमा आयोजना गरेको द्वन्द्व प्रभावितहरुको राष्ट्रिय भेलामा ढकालले द्वन्द्व पीडितलाई सम्बोधन गर्ने गरी काुनन बनाउन अनौपचारिक रुपमा विज्ञहरुसँग छलफल गरिरहेको जानकारी दिएका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अन्तरिक विवादका कारण द्वन्द्व पीडितको पक्षमा काम हुन नसकेको बारे सरकार जानकार रहेकाले छिट्टै नै सरकारले विवाद समाधान गर्ने गरी सम्बोधन गर्ने पनि मन्त्री ढकालले बताए ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगकाका अध्यक्ष लोकेन्द्र मल्लिक र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य किरण गुरुङले सरकारको पूर्ण सहयोग नभएका कारण काम गर्न नसकेको बताए । तर, कार्यक्रममा विभिन्न जिल्लाबाट आएका द्वन्द्व पीडितहरुले भने दुवै आयोगमा आन्तरिक विवाद चुलिएका कारण आफूहरुको उजुरीमाथि अनुसन्धान हुन नसकेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।

























