सन् २०१८ मा ५३ जना पत्रकार मारिए
वि.सं.२०७५ पुस ५ बिहीवार २०:४३
shares

एक रिपोर्टका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा मारिने पत्रकारको संख्या वृद्धी भएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अझ बढी खुलापनको अपेक्षा गरिरहेको विश्व जगतले पत्रकार हत्याको संख्या बढीरहेको दुःखद नियती भोग्नु परेको छ ।
कमेटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे) ले बुधबार प्रकाशित गरेको रिपोर्टलाई आधार मान्दा पत्रकारहरू उनीहरूले गरेको कामकै प्रतिशोधका आधारमा मारिनेहरूको संख्यामा वृद्धि भएको छ । र, यो संख्या ‘झण्डै दोब्बर’ भएको सिपिजेले जनाएको छ ।
साउदी पत्रकार जमाल खासोज्गी हत्याको प्रसंग रेखांकन गर्दै सिपिजेले आफ्नो रिपोर्टमा भनेको छ, ‘२०१८ मा पत्रकारिताको प्रतिशोधको लागि पत्रकारलाई निशाना बनाएर हत्या गर्ने कार्य पछिल्लो वर्षको तुलनामा दोब्बर भएको छ ।’

रिपोर्ट अनुसार यस वर्ष जनवरी १ देखि डिसेम्बर १५ सम्म ५३ जना पत्रकारको हत्या भएको थियो । सन् २०१७ मा यो संख्या ४७ थियो भने, २०१६ मा ५० जना पत्रकारको हत्या भएको थियो । सन्, २०१८ मा मारिएका ५३ जना पत्रकारमध्ये कम्तिमा ३४ जनाको प्रत्यक्ष रूपले हत्या गरिएको, जबकी सन् २०१७ मा यस्तो संख्या १८ रहेको सिपिजेको रिपोर्टमा उल्लेख छ ।
सिपिजेको रिपोर्टमा अफगानिस्तान पत्रकारका लागि सबैभन्दा बढी खतरनाक देश रहेको उल्लेख छ । उसले पत्रकारहरूको संख्या बढ्नुमा पनि केही हदसम्म उसको जिम्मेवारी भएको बताएको छ ।
पत्रकारका लागि भारत पनि खतरनाक
रिपोर्टर्स विदाउट बोर्डरको रिपोर्ट अनुसार भारत तथा अमेरिका जस्ता राष्ट्र पनि पत्रकारका लागि सुरक्षित छैनन् । भारत त पत्रकारका लागि सबैभन्दा असुरक्षित पाँचौं राष्ट्र भएको रिपोर्टमा उल्लेख छ ।
सन् २०१८ मा भारतमा ६ जना पत्रकारको हत्या भएको थियो । जबकी अमेरिकमा पनि सोही अवधीमा समान ६ जना पत्रकारको हत्या भएको उक्त रिपोर्टमा उल्लेख छ ।
दक्षीण एसियाली राष्ट्रमा यो अवधीमा १३ जना पत्रकारको हत्या भएको रिपोर्टमा उल्लेख छ ।






















