विकास बैंकले पनि घटाए ब्याजदर
वि.सं.२०७५ पुस ७ शनिवार २३:३३
shares

विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । आफ्ना छाता संगठन नेपाल डेभलपमेन्ट बैकर्स एशोसिएसनमा भएको सहमतिअनुसार विकास बैंकहरुले ब्याजदर घटाएका हुन् । एशोसियसनले मुद्दती निक्षेपमा अधिकतम ९.७५ प्रतिशत ब्याज दिने सहमति गरेको थियो । सोहीअनुसार हाल १२.५० प्रतिशतसम्म ब्याज दिँदै आएका विकास बैंकहरुले ब्याजदर घटाएका हुन् । नयाँ ब्याजदर अनुसार विकास बैंकले संस्थागत मुद्दतीमा भने अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका छन् । बचततर्फ ७ प्रतिशत ब्याज दिने संघले जनाएको छ ।
वाणिज्य बैंकले ब्याजदर घटाएको भोलीपल्टै विकास बैंकहरुले पनि ब्याजदरमा हेरफेर गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसियसनले बिहीबार व्यक्तिगत मुद्दतीमा बढीमा ९.२५ प्रतिशत ब्याज दिने सहमति गरेको थियो । त्यसको भोलिपल्टै शुक्रबार डेभलपमेन्ट बैंकर्स संघले पनि सहमति गरेको थियो ।
























