कर्णाली सम्भावनै सम्भावनाले भरिएको छ : मुख्यमन्त्री शाही
वि.सं.२०७५ पुस ११ बुधवार ०१:०९
shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कष्ट मात्र नभई सम्भावना पनि भएको बताएका छन् । सञ्चारमाध्यममा कर्णालीको विकटता, गरिबीका समाचारहरू बढी आएकोप्रति लक्षित गर्दै उनले सम्भावना कुरा उजागर गर्न समेत आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रिय समाचार समितिको आयोजना तथा प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको तीनदिने पत्रकार प्रशिक्षण कार्यक्रमको समापनमा शाहीले यस्तो आग्रह गरेका हुन् ।
‘कर्णालीका दुःख मात्र किन पत्रकारहरुले लेख्ने ? यहाँका सम्भाबनका कुरालाई पनि उजागर गर्न जरुरी छ,’ उनले भने, ‘कर्णाली हल्लैहल्लामा दरिद्र भएको हो । यहाँ देशमै नभएका सम्भाबना छन् । त्यसलाई हाम्रो आँखाले देख्नुपर्छ ।’
उनले पत्रकारहरूलाई कसरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भनेर कलम चलाउन आग्रह गरे । ‘कर्णालीका पत्रकारको अब नयाँ भूमिका हुनुपर्छ,’ शाहीले भने, ‘जसरी प्रदेश सरकार नाम र राजधानी तोक्ने कुरामा अगाडि भयो त्यसै गरी कर्णालीका पत्रकारले पनि पाईला चाल्नु पर्छ ।’
कर्णालीमा सम्बृद्धि ल्याउने गरी कलम चलाउन आग्रह गरेका उनले प्रदेश सरकार पत्रकारहरूको हितमा काम गर्न तयार रहेको बताए ।
त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीलाई सम्बृद्ध हुनबाट रोक्नेविरुद्ध कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे । कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका पत्रकारहरुको सहभागीता थियो ।
























