सन् २०१८ : नेपालको पर्यटन क्षेत्रमा उत्साहको वर्ष
वि.सं.२०७५ पुस १७ मंगलवार १७:३९
shares

अरु क्षेत्रमा मिश्रित नतिजा देखिए पनि सन् २०१८ नेपालको पर्यटन क्षेत्रका लागि निकै उपलब्धिमूलक रह्यो । पर्यटन बोर्डका अनुुसार यो वर्ष झण्डै ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । ११ महिनामा यत्रो संख्यामा विदेशीले नेपाल घुमेको यो एउटा नयाँ रेकर्ड नै हो । वर्षको अन्तिम महिनामा झण्डै १ लाख पर्यटकले नेपालको भ्रमण गरे । २०१८ को नोभेम्बरसम्म १० लाख १ हजार ९३० विदेशी पर्यटक नेपाल आएका थिए भने डिसेम्बर ३१ अर्थात् २०१८ को अन्तिम दिनसम्म झण्डै ११ लाख पुगेको पर्यटन बोर्डले जनाएको छ । नेपाल भ्रमणमा आउन पर्यटकमा धेरैजसो भारतीय, चिनियाँ, अमेरिकी, बेलायती र जर्मन छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो तथ्यांकले यसलाई सफल पार्न मद्दत पुर्याउने देखिएको छ । अर्कोतिर, उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ । पर्यटकको संख्यामा वृद्धि भएसँगै सरकार र पर्यटन व्यवसायी उत्साहित भएका छन् । ‘सन् २०१८ मा ११ लाख पर्यटक नेपाल घुम्नु आफैंमा ठूलो उपलब्धि हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने, ‘यसले २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिन्छ ।’
नेपाल घुम्नका लागि योग्य देश भएको तथा शान्तिपूर्ण रहेको सन्देश विश्वमा प्रवाह हुँदै गरेकाले पर्यटकको आगमन बढेको अधिकारीहरुको विश्वास छ । यस्तो सन्देश अझै फैलाउन सके अपेक्षाभन्दा बढी उपलब्धि हासिल गर्न सकिने उनीहरु बताउँछन् । ‘विश्व समुदायमा नेपालको पर्यटन छवि सदृढ हुँदै गएको छ, यसले २०२० लाई सहयोग गर्न सक्छ,’ पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले भने, ‘नेपालबारे अझै सकारात्मक सन्देश प्रवाह भए त्यसको ठूलो योगदान हुन सक्छ ।’
सन् २०१९ लाई आधार वर्ष मानेर काम अघि बढाइने र त्यसैको आधारमा सन् २०२० मा २० लाख पर्यटक भित्रयाइने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।
सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए । बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटकको संख्या वृद्धि भएको हो ।
आन्तरिक पर्यटन पनि बढ्यो
घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेको छ । नेपालीहरुमा विभिन्न गन्तव्यमा घुम्न निस्कने र खर्च गर्ने बानी बढेको छ । सरकारले नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ ।
होटल विस्तारलाई तिव्रता
होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले होटलको ‘बेड’ संख्या ३७ हजार छ । सन् २०२० सम्म करीब छ हजार बेड संख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ ।
सन् २०१८ मा नेपालमा केही खास अन्तरराष्ट्रिय चेन होटल सञ्चालनमा आएका छन् भने कतिपय सञ्चालनको तयारीमा छन् । विश्वस्तरीय चेन होटलको आगमन र यो क्षेत्रमा भित्रिएको अर्बौं लगानीले पनि यो वर्ष होटल क्षेत्रका लागि सकारात्मक मान्नुपर्ने होटल एसोसिएशन नेपाल हानका अध्यक्ष अमरमान शाक्य बताउँछन् ।

























