काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्व खेलकुदमा सन् २०१८ मा के-के भए ?

17.91K
shares

सन् २०१८ विश्व र नेपाली खेलकुदका लागि सुखद नै रह्यो । नाम चलेका खेलाडी तथा प्रशिक्षकले सन्यास लिए भने खेलकुद क्षेत्रमा नयाँ खेलाडीको आगमनले खेल गतिविधि थप रोमाञ्चक र आकर्षक बने । विभिन्न खेलमा आएका नयाँ खेलाडी छोटो समयमा उत्कृष्ट प्रदर्शन गर्दै धेरैको मन जित्न सफल भए । केहीले इतिहासमा रेकर्ड काम गरे भने केहीले अविष्मरणीय खेल कौशल पस्किए ।

सन् २०१८ मा धेरै रुचाइएका नेपालका खेल
क्रिकेट
एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रिएट्सले जित्यो । फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । खेल जितेसँगै ललितपुर २५ लाख नगद हात पार्याे भने उपविजेता भैरहवाले १० लाख पाएको थियो ।

भारतीय ब्याट्सम्यान रविन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टन पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो । पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बन्यो ।

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी कासाइ ग्लाडियटर्सले हात पार्यो । फाइनल खेलमा रोयल शंकरनगरलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । जितसँगै लुम्बिनीले नगद ३ लाख पुरस्कार पायो भने उपविजेत शंकरनगरले १ लाख ५० हजारमा चित्त बुझायो ।

विश्वक्रिकेटमा चम्किएको नाम
सन्दीप लामिछाने
सन् २०१८ मा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेट जगतमा चम्किलो ताराका रुपमा उदाए । नेपाली टिममा प्रभावशाली बलर सन्दीप भारत, अस्ट्रेलियालगायत देशका प्रिमियर लिगमा राम्रै छाप छाड्न सफल भए । सन्दीपको उत्कृष्ट प्रदर्शनले सानो उमेरमा ठूलै पहिचान बनाउन सफल रह्यो । लामिछानेले आफ्नो मात्र नभई देशको नाम विश्वमा चिनाए ।

वर्षको उत्कृष्ट क्रिकेटर पारस खड्का
सर्वाधिक विकेट लिने नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर वर्षको उत्कृष्ट खेलाडी’ भए । इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट राम्रो प्रदर्शन गर्दै गरेका मिडफिल्डर रोहित चन्दलगायत दिपेश धामी (ब्याडमिन्टन), इन्द्रबहादुर श्रेष्ठ (जुडो), सन्दीप लामिछाने र गल्फका टंकबहादुर कार्कीलाई पछि पार्दै उनी उत्कृष्ट खेलाडी बन्न सफल रहे ।

शक्ति गौचनको सन्यास
नेपाली क्रिकेट टिमका स्पिनर शक्ति गौचनले १९ वर्षको क्रिकेट यात्रामा एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइसर्गविरुद्ध पोखराबाट खेल्दै आफ्नो खेलाडीको करियर अन्तिम व्यावसायिक खेल खेलेका थिए । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । अर्को वर्ष सिंगापुरमा एसीसी ट्रफीबाट राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका शक्तिले टि–२० विश्वकप, डिभिजन ५, ४ र ३ को उपाधि जिताउँदै वान डे मान्यता पाउँदा नेपाली टोलीको मुख्य हिस्सा बनेका थिए ।

फुटबल
पाँचौं साफ महिला फुटबल च्याम्पियनसप आयोजनाका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भयो । विराटनगरमा भएको सम्झौतामा फागुन २८ गतेदेखि सुरु प्रतियोगिताका लागि महानगरले रंगशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने निर्णय भयो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भए । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भए ।

भलिबल
रुपन्देहीको तिलोत्तमामा आयोजना भएको छैटौं नमुना खुला भलिबलको उपाधि ब्रेभ गोर्खा क्लबले हात पार्यो । नमुना युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका–७ सेमराबजारमा भएको फाइनलमा माली ब्रदर्श सेमरामाथि ३–२ को रोमाञ्चत जित निकाल्दै ब्रेभ गोर्खाले उपाधि कब्जा गरेको थियो ।

विभागीय नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबले पोखरामा जारी चौथो आरबीबी एनभिए पुरुष राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित हात पार्यों । एपीएफले साविकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक जित निकायो ।

नेपाली राष्ट्रिय भलिबल टिमका महत्वपूर्ण सदस्य मानबहादुर श्रेष्ठ हङकङमा भएको १०औं पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

कराँते
भारतको मुम्बईमा पुस ७ र ८ गते सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको टिम काता र कुमेततर्फ गरी २० स्वर्ण र २ रजत जित्दै टिम च्याम्पियन बन्यो ।

दक्षिण एसियाली खेलकुदका पदक विजेता कराँतेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआईपीए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भए ।

बक्सिङ
राखेप च्याम्पियनसिप राष्ट्रिय बक्सिङको पुरुष् तर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब च्याम्पियन बन्यो । पुरुषतर्फ २७औं राष्ट्रिय प्रतियोगितासमेत रहेको स्पर्धामा आर्मीले ८ स्वर्ण १ रजत र १ कास्य पदक जित्यो । त्यस्तै आठौं महिला राष्ट्रिय प्रतियोगितामा एपिएफले ३ स्वर्ण ४ रजत र १ कास्य पदक जित्यो ।

टेनिस
मायांका राणा नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व र्याङकिङ प्रतियोगिताको महिला सिंगल्सको क्वाटरफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी नेपाल आईटीएफ जुनियर यू–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत बुधबार भएको खेलमा आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुग्ने पहिलो महिला खेलाडी बनिन् ।

समग्र खेलको गतिविधिलाई हेर्ने हो भने नेपालले पनि २०१८ मा राम्रै प्रगति गर्याे । गत वर्षको खेल गतिविधि स्मरण गर्दै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सन्तोषजनक रहेको दाबी गरे । आउँदो दिनमा खेलकुद क्षेत्रलाई अझै विकास र विस्तार गर्ने प्रतिबद्धता जनाए ।

विश्व खेलकुद
क्रिकेटमा न्युजिल्यान्डलाई ऐतिहासिक सफलता
न्युजिल्यान्डले श्रीलंकासँगको दुई खेलको टेस्ट क्रिकेट सिरिज जित्यो । फाइनल खेलमा श्रीलंकालाई २३६ रनमा अलआउट गर्दै न्युजिल्यान्डले ऐतिहासिक सफलता हात पारेको हो । ६६० रनको विशाल चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ थालेको श्रीलंकाले ठूलो योगफल तयार पार्न नसकेपछि न्युजिल्यान्डले ४२३ रनको विशाल जित निकालेको थियो ।

फुटबल
हरेक चार वर्षको अन्तरमा हुने विश्वकपले सन् २०१८ मा पनि धेरै चर्चा पायो । रोमाञ्चक, प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो भने पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना अधुरै रह्यो । नाम चलेका खेलाडी र देशले फितलो प्रदर्शन गरेपछि धेरै दर्शक र समर्थकको गालीकोे सामना गर्नुपर्याे ।

विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्वकपलाई रुसले सफल रुपमा सम्पन्न गर्यो । अप्रत्यासित र रोमाञ्चक रुपमा भएका खेलहरुले कति समर्थकलाई दुःखका आँसु झार्न बाध्य बनायो भने कतिलाई खुसीका । आयोजनाको हिसाबले मात्र होइन, तथ्यांकका हिसाबले पनि रुस विश्वकप निकै रोमाञ्चक बन्यो । एक महिनाको महोत्सवमा कुल ६४ खेल हुँदा १६९ गोल भएका थिए । पहिलो हाफमा ६५ गोल हुँदा दोस्रो हाफमा १०४ गोल भए । रुस विश्वकप २०१८ मा कैयौं युवा स्टारको उदय भयो । तर, केही त्यस्ता स्टार खेलाडी, जसले आफ्नो स्तरअनुरुप प्रदर्शन गर्न सकेनन् ।

विश्वकप २०१८ मा ‘फ्लप’ भएका तीन ठूला नाम
१. थोमस मुलर
थोमस मुलर जर्मनीका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । सन् २०१० र २०१४ को विश्वकपमा ५–५ गोल गरेका मुलरबाट उस्तै प्रदर्शनको अपेक्षा गरिएको थियो । २०१७÷१८ बुन्डेस लिगामा उनले सर्वाधिक एसिस्ट दर्ता गर्दै विश्वकपका लागि आफू तयार रहेको पुष्टि गरेका पनि थिए । तर, जर्मनीको खराब यात्रामा उनले एक गोल वा असिस्ट पनि गर्न सकेनन् । मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी आश्चर्यजनक तरिकाले समूह चरणबाट बाहिरियो ।

२. रोबर्ट लेवान्डोस्की
विश्वकप छनोटमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए । छनोटमा गरेको १६ गोलका कारण उनलाई विश्वकपमा पनि गोल्डेन बुटको दाबेदारका रुपमा हेरिएको थियो । तर, पोल्यान्डको अग्रपंक्तिमा उनको प्रदर्शन निकै खराब थियो । उनले एक गोल वा असिस्ट पनि दर्ता गर्न सकेनन् र पोल्यान्ड समूह ‘एच’ को अन्तिममा रहन पुग्यो । २९ वर्षे बायर्न म्युनिख स्ट्राइकर लेवान्डोस्कीका लागि व्यक्तिगत रुपमा यो महत्वपूर्ण प्रतियोगिता थियो तर उनी ‘फ्लप’ हुन पुगे ।

३. डेभिड डे गेया
म्यानचेस्टर युनाइटेडबाट गरिरहेको प्रदर्शनले उनलाई विश्वको नम्बर १ गोलकिपरको रुपमा स्थापित गरेको थियो । तर, विश्वकपमा गरेको खराब प्रदर्शनपछि फुटबल समर्थक र विश्लेषकसमेत पनि उनीबाट निराश भएका छन् । पोर्चुगलविरुद्ध गरेको गल्तीका कारण स्पेनले ३ अंक लिने मौका गुमायो भने अन्य ३ खेलमा पनि उनको प्रदर्शन सामान्यभन्दा निकै तल थियो । सबै ४ खेलमा उनले केवल एक बचाउ गरे, जुन उनको स्तरका लागि अचम्मको तथ्यांक बन्न पुग्यो ।

विश्वकपमा उदाएका पाँच खेलाडी
फिफा विश्वकपअन्तर्गत यसपटक धेरै ठूला टोली यात्रा अपेक्षा गरिएभन्दा निकै चाँडो घर फर्कन बाध्य भयो । यसक्रममा साना टोलीका केही खेलाडीले भने विश्वफुटबलको महाकुम्भमा आफ्नो पहिचान बनाए । जारी प्रतियोगिता सुरु हुनुअघि नाम नचलेका पाँच खेलाडी, जसले यसपटक राम्रो प्रदर्शन गरे ः

१. जुआन क्विन्टेरो (कोलोम्बिया)
रुसको विश्वकपमा मिडफिल्डर क्विन्टेरो दृढ विश्वास बोकेर आएका थिए । सन् २०१४ को विश्वकपमा रोड्रिग्वेजको छायाँमा परेका उनले त्यसपछिका चार सिजन क्लब फुटबलमा उतारचढावका बीच बिताए । यसपटक भने उनले उत्कृष्ट प्रदर्शन गर्दै कोलोम्बियाको पाँचमध्ये तीन गोलमा सहभागी भए । जापानविरुद्ध २–१ ले पराजित भए पनि उनले गरेको फ्रि किक गोल स्तरीय रह्यो ।

२. आन्टे रेबिच (क्रोएसिया)
पछिल्लो संस्करणमा वैकल्पिक खेलाडीको रुपमा अन्तिम केही मिनेटमात्र खेल्न पाएका रेबिचले यसपटक भने सुरुवातदेखि मैदानमा उत्रिए । अर्जेन्टिनाविरुद्ध गोलरक्षक विल्ली कबलेरोको गल्तीको फाइदा उठाउँदै गरेको गोलले उनको स्तर देखायो । डेनमार्कविरुद्ध पनि बलियो प्रदर्शन गरेका उनले सबै खेलमा आफ्नो कौशल देखाए । क्रोएसियाको सफल नतिजामा २४ वर्षीय रेबिचको भूमिका महत्वपूर्ण रह्यो ।

३. एलेक्जेन्डर गोलोभिन (रुस)
एलेक्जेन्डर गोलोभिनले गत सिजन युरोपा लिगमा आर्सनलविरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो स्तरको उदाहरण प्रस्तुत गरेका थिए । जारी विश्वकपमा रुसका उदाउँदा भविष्यको रुपमा उनले आफूलाई उभ्याए । २२ वर्षीय मिडफिल्डरले उद्घाटन खेलमा फ्रि किकमार्फत गोल र दुई एसिस्टबाट प्रतियोगिता सुरु गरेका थिए । त्यसपछि लगातार राम्रो प्रदर्शन गरिरहेका उनी छिट्टै युरोपको ठूलो क्लबमा आबद्ध हुने अपेक्षा गरिएको छ ।

४. टाकासी इनुई (जापान)
रियल बेटिसले विश्वकपअगावै इनुईलाई क्लबमा भित्र्याएर उत्कृष्ट निर्णय गरे । ३० वर्षीय इनुईले जापानको युवा टोलीमा मिसिएर निकै लोभलाग्दो प्रदर्शन गरे । बेल्जियमविरुद्ध २–० को अग्रतासम्म पुर्याएका उनले समूह चरणमा जापानको आक्रमणमा ऊर्जा थपेका थिए । पछिल्ला केही सिजन बुन्डेसलिगा र ला लिगाका मध्यक्रमका क्लबमै रहेका उनी ढिलै भए पनि राम्रो क्लब जाने भएका छन् ।

५. हर्भिङ लोजानो (मेक्सिको)
मेक्सिको फेरि एकपटक विश्वकपको नकआउट चरणमा पहिलो खेलमै बाहिरियो । तर, चार खेल खेल्ने क्रममा मेक्सिकोले विश्व फुटबलका सम्भावित नयाँ स्टारको भने परिचय दियो । विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध विजयी गोल गरेका उनले कोरियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरे । पछिल्लो सिजन २९ खेलमा १७ गोल गरेका उनले पीएसभीलाई लिग उपाधि दिलाएका थिए । बार्सिलोनालगायत युरोपका ठूला टोलीले अहिले उनलाई पछ्याइरहेका छन् ।

उत्कृष्ट खेलाडी : लुक्का मड्रिक
क्रोसियाका खेलाडी लुक्का मड्रिकले विश्वकप २०१८ को उत्कृष्ठ खेलाडीको उपाधीस्वरुप गोल्डेन बल पाए ।

सर्वाधिक गोलकर्ता : ह्यारी केन
इङ्ल्यान्डका खेलाडी ह्यारी केनले खेलमा ६ गोल गरेर सर्वाधिक गोलकर्ताको उपाधीस्वरुप गोल्डेन बुड पाए ।

विश्वकपमा सर्वाधिक गोलकर्ता
६ गोल : ह्यारी केन– इंग्ल्यान्ड

४ गोल : क्रिस्टियानो रोनाल्डो– पोर्चुगल, रोमेरो लुकाकु– बेल्जियम र डेनिस चेरेसेभ– रुस

३ गोल : डिएगो कोस्टा– स्पेन, केलियन एमबाप्पे, यारी मिना र एन्टोइन ग्रिजम्यान– फ्रान्स, एडिन्सन काभानी– उरुग्वे, अर्टिम ज्युभा– रुस ।

२ गोल : जेडिनाक– अस्ट्रेलिया, लुका मोड्रिक– क्रोएसिया, फिलिपे कौटिन्हो– ब्राजिल, अहमेद मुसा– नाइजेरिया, इडेन हजार्ड– बेल्जियम, जोन स्टोन– इङ्ग्ल्यान्ड, लुइस स्वारेज– उरुग्वे, मोहम्मद सलाह– इजिप्ट, ह्युङ मिन सन– दक्षिण कोरिया, आन्द्रेस ग्राङभिस्ट– स्विडेन, वाभी खाज्री– ट्युनिसिया, सर्जियो अग्विरो, नेयमार– ब्राजिल र टाकासी इनुई– जापान, मारियो म्यान्जुकिक, इभान पेरिसिक– क्रोएसिया र विभिन्न देशका ८२ खेलाडीले एक गोल गर्न सफल भए ।

क्रिकेट
महिला टि-ट्वेन्टीमा अस्ट्रेलिया च्याम्पियन
वेस्ट इन्डिजमा सम्पन्न फाइनलमा अस्ट्रेलिया ८ विकेटले विजयी भयो । जितका लागि १ सय ६ रनको सामान्य लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले १५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गरे । अस्ट्रेलियालाई सहज जित दिलाउन कप्तान मेग लनिङगले २८ र एसले गार्डनर ३३ रनमा नट आउट रहे ।

आईपीएल अक्सन सर्वाधिक मूल्यमा बिक्री भएका १० खेलाडी
इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन सकिएको छ । जयपुरमा सम्पन्न अक्सनमा कुल ३ सय ४६ खेलाडीमध्ये २० विदेशी र ४० भारतीय गरी ६० खेलाडीमाथि बोली लाग्यो ।

सर्वाधिक महँगो मूल्यमा बिक्री भएका नौ खेलाडी : (भारती रुपैयाँमा)
१. जयदेव उनादकट – ८ करोड ४० लाख, राजस्थान रोयल्स
२. बरुण चक्रवती – ८ करोड ४० लाख, किंग्स इलाभेन पञ्जाव
३. साम करन – ७ करोड २० लाख, किंग्स इलाभेन पञ्जाव
४. कोलिन इन्ग्राम – ६ करोड ४० लाख, दिल्ली क्यापिटल्स
५. कार्लोस ब्रेथवेट – ५ करोड, कोलकत्ता नाइट राइडर्स
६. अक्षर पटेल – ५ करोड, दिल्ली क्यापिटल्स
७. मोहित शर्मा – ५ करोड, चेन्नई सुपर किंग्स
८. शिवम दुबे – ५ करोड, रोयल च्यालेन्जर बेंगलोर
९. मोहम्मद सामी  – ४ करोड ८० लाख, किंग्स इलाभेन पञ्जाव

१० वर्षपछि अस्ट्रेलियन भूमिमा भारतको जित
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले ऐतिहासिक जित निकाल्यो । अस्ट्रेलियालाई २ सय ९१ रनमा अल आउट गर्दै ३१ रनले विजयी भयो । यो जितसँगै सन् २००८ देखी अस्ट्रेलियाको भूमिमा भारतको जितको खडेरी पनि तोडियो ।

ओलिवर डेभिसको एकै ओभरमा ६ छक्कासहित दोहोरो शतक
अष्ट्रेलियाका १८ वर्षे ओलिवर डेभिसले घरेलु लिग यू–१९ च्याम्पियनसिपमा ६ बलमा ६ छक्कासहित दोहोरो शतक बनाए ।