काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

420
shares

काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको छ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पहलमा मंसिर ४ गते रंगशालाको पूर्वाधार निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) आह्वान गरिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले अनलाइनमार्फत बोलपत्र आह्वान गरेको छ । ठेक्का छनोटका लागि सिङ्गल स्टेज टु इन्भेलप विधि अपनाइने कार्यालयले जनाएको छ ।

यस ठेक्काअन्तर्गत रंगशालाको मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने र जमिन सम्याउने काम गरिनेछ । त्यसैगरी प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका पूर्वाधारका काम अघि बढाइनेछ ।

बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण कम्पनीको औसत वार्षिक निर्माण कारोबार भ्याटबाहेक कम्तीमा १३ करोड ८१ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कम्तीमा एउटा समान प्रकृतिको आरसीसी फ्रेम स्ट्रक्चर परियोजना भ्याटबाहेक ११ करोड १० लाख रुपैयाँ बराबरको सम्पन्न गरेको अनुभव हुनुपर्नेछ ।

कार्यालयले बोलपत्र जमानत रकम ५४ लाख रुपैयाँ तोकेको छ । बोलपत्र खुलेको मितिले ९० दिनसम्म बोलपत्र मान्य रहने र बोलपत्र जमानतको अवधि १२० दिन हुनुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक निर्माण कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गरी प्रक्रियामा सहभागी हुन सक्नेछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सुदूरपश्चिमको खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । रंगशाला निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।