विराटनगर जुट मिल्सको विवाद टुंगियो
वि.सं.२०७५ पुस १७ मंगलवार १९:२९
shares

लामो समयदेखि सञ्चालक समितिको विवादमा रुमलिएको विराटनगर जुट मिल्स लिमिटेडको विवाद टुंगिएको छ । उच्च अदालत विराटनगरले अध्यक्ष वसन्त वनविरुद्धको रिट खारेज गरिदिएपछि जुट मिल्सका अध्यक्षबीचको विवाद टुंगिएको हो ।
अध्यक्ष वन अवैधानिक अध्यक्ष रहेको भन्दै उनलाई हटाउन भनी राजेन्द्र कार्कीले दायर गरेको रिट उच्च अदालतका न्यायाधीश नागेन्द्र लाभ कर्ण र साधुराम सापकोटाको इजलासले खारेज गरिदिएपछि अध्यक्षको विवाद टुगिंएको हो ।
अदालतको फैसलापछि वनले आफ्नो पक्षमा फैसला भएको भन्दै अब मिलको नेतृत्व सञ्चालन गर्ने बताए । उनले भने, ‘अदालतले मेराविरुद्धमा दायर भएको रिट खारेज गरिदिएको छ, अब मिलको नेतृत्व सम्हालेर यसलाई पूर्ण क्षमतामा सञ्चालन गराउनेछु ।’
उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार अब वनलाई जुट मिल्सको अध्यक्षको रुपमा काम गर्न कानुनी बाटो खुलेको छ । रेग्मीले वनविरुद्धको रिट खारेज भएको बताए ।
यसअघि अध्यक्ष बसन्त वनले गरेको कुनै पनि निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश गरेको थियो । उच्च अदालतका न्यायाधीश उमेशराज पौड्यालको एकल इजलाशले गरेको सो अन्तरिम आदेश उल्टाउदै रिट खारेज गरिदिएको हो । यसअघि विराटनगर जुट मिल्समा वसन्त वन र मुकुन्दप्रसाद नेपालले आ-आफ्नो समूहको आधिकारिता भएको दावी गर्दे आएका थिए ।
























