काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

1.53K
shares

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रख्यात मुटुरोग उपचार केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार केन्द्रमा आयोजित स्वागत, बधाई, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अमात्यले विगतदेखि केन्द्रले गर्दै आएको कामलाई निरन्तरता दिँदै नयाँ विचार र योजनासहित अघि बढ्ने बताए ।

उनले मुटुरोगका बिरामीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए ।

उनले भने, ‘विगत ३० वर्षदेखि चल्दै आएको यो संस्थामा उहाँहरूले राख्नुभएका विचारमा अझै पनि हामी अरू विचारहरू थप्नेवाला छौं। यी विचारहरूले नै एउटा विश्वास जगाउनेछ र हाम्रा मुटुरोगका बिरामीलाई हामी अझ राम्रो सेवा दिने विचार गरेका छौं ।’

गंगालाल आजको अवस्थामा पुग्नुमा कर्मचारी तथा चिकित्सकहरूको मेहनत र योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अमात्यले सबैको सहकार्यबाट केन्द्रलाई अझ उच्च संस्थाका रूपमा विकास गर्न सकिने बताए ।

‘गंगालाल आज जहाँ छ, त्यो हामी सबैले गर्दा नै हो। हजुरहरूकै परिश्रम र कामले गर्दा आज हामी यहाँ आइपुगेका छौं। यही कामबाट नै हामी अगाडि बढ्नेछौं र गंगालाललाई योभन्दा पनि अझ उच्च संस्थाका रूपमा देखाउन सक्छौं,’ उनले भने ।

मुटुरोग विशेषज्ञका लागि गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताए ।

अमात्यले समय परिवर्तनशील हुने भन्दै पूर्व कार्यकारी निर्देशकहरुको योगदानलाई आगामी दिनमा पनि सम्मान गरिने बताए ।

‘समय यस्तै हो, समयले कसैलाई कुर्दैन र हामी अगाडि बढ्दै जान्छौं। यहाँ पाल्नुभएका र आज बिदाइ हुन लाग्नुभएका पूर्व कार्यकारी निर्देशकलाई हामी परिवारकै रूपमा लिनेछौं । उहाँको पद सकिए पनि उहाँको योगदानलाई सधैं कदर गर्दै हामी अगाडि बढ्नेछौं,’ उनले भने ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य गत साउन २२ गते नियुक्त भएका हुन् ।

यस्तै, उक्त कार्यक्रममा पूर्व कार्यकारी निर्देशक रवि मल्लले आफ्नो बिदाइ मन्तव्यमा आफू कार्यकारी निर्देशकमा आउँदा घाटामा रहेको संस्थालाई नाफामा लैजान सफल भएको दाबी गरे ।

उनले भने, ‘म आउनुअघि महिनामै डेढ–दुई करोडसम्म घाटामा गएको संस्थालाई हामीले डेढदेखि दुई करोड फाइदामा लगेका छौं । अनावश्यक च्यारिटीहरू रोकेर केन्द्रलाई घाटा नपारीकनै कर्मचारीहरूलाई सुविधाहरू दिइएको छ ।’

मल्लले नवनियुक्त कार्यकारी निर्देशक अमात्यलाई बधाई तथा शुभकामना दिँदै केन्द्रलाई अहिलेको अवस्थाभन्दा अझ माथि पु¥याउने विश्वास व्यक्त गरे ।

गंगालाल राष्ट्रिय हृदय केन्द्र आधुनिक कार्डियोलोजी सेन्टरका रूपमा स्थापना भएको उल्लेख गर्दै उनले केन्द्रले देशभरको मुटुरोग उपचार सेवामा उदाहरण प्रस्तुत गरेको बताए । तर केन्द्रको मूल उद्देश्य कुनै पनि बिरामीले पैसा अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने रहेको उनले स्मरण गराए ।

‘गंगालाल अर्को एउटा उद्देश्यले पनि स्थापना भएको थियो—कुनै पनि बिरामीले पैसा छैन भनेर उपचार नपाइकन फर्किनु नपरोस् । आजभोलि एक लाख डिपोजिट गराउनुपर्ने वातावरण बन्न लागेको जस्तो देखिएको छ, त्यस्तो नहोस्,’ मल्लले भने ।

पैसाको अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित हुने अवस्था आउन नदिन उनले नवनियुक्त निर्देशकलाई आग्रह गरे । केन्द्रमा रहेको फन्डलाई आवश्यक बिरामीको उपचारमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मल्लले केन्द्रले काठमाडौंमा मात्र सीमित नभई देशका विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

‘अब हामीले यहाँबाट बाहिर जिल्ला–जिल्लामा गएर क्याम्पहरू पनि गर्नुपर्छ । त्यहाँका गरिब–दुःखीहरूले पनि हाम्रो प्राक्टिसहरूको सुविधा पाउनुपर्छ,’ उनले भने ।

उनले कार्डियाक अरेस्टको अवस्थामा जीवन बचाउन सीपीआर तालिमलाई पनि प्राथमिकता दिनुपर्ने बताए । पूर्व कार्यकारी निर्देशक मल्लले आफू अवकाशपछि पनि सामाजिक तथा च्यारिटी सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा केन्द्रका चिकित्सक, कर्मचारी तथा पदाधिकारीहरूले नवनियुक्त कार्यकारी निर्देशक अमात्यलाई स्वागत तथा बधाई दिएका थिए भने पूर्व कार्यकारी निर्देशक मल्ललाई सम्मानसहित बिदाइ गरिएको थियो ।