गृहपृष्ठ विद्युत् पहुँच युक्त कर्णाली बनाउँदै छौँ : मन्त्री श्रेष्ठ
विद्युत् पहुँच युक्त कर्णाली बनाउँदै छौँ : मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ग्रिड विस्तारसँगै स्थानीयस्तरमा लघु जलविद्युत्, सौर्य मिनीग्रिड र घरेलु सौर्य प्रणाली विस्तार गरेर विद्युत् सेवायुक्त कर्णाली बनाउन सरकार लागिपरेको बताएको छ ।
राष्ट्रियसभाको बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै हालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कर्णालीमा २०९ वटा लघु तथा साना जलविद्युत् आयोजनाबाट छ हजार ७१९ किलोवाट विद्युत् उत्पादन भई ६४ हजार २३१ घरधुरी लाभान्वित भएका अवगत गराए ।
त्यस्तै, २३ वटा सौर्य मिनीग्रिडबाट एक हजार ७०९ किलोवाट विद्युत् उत्पादन भई पाँच हजार ३९१ घरधुरीमा विद्युत् पहुँच पुगेको उनले बताए ।
मन्त्री श्रेष्ठले भने, “कर्णालीका कूल ७१८ वडामध्ये ८२ वडा पूर्ण रूपमा, ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएका छन् भने १६४ वडामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । सरकारले यसलाई केवल तथ्यांकको विषय नभई नागरिकको आधारभूत सेवा र सामाजिक न्यायसँग जोडिएको दायित्वका रूपमा लिएर आगामी कार्ययोजना अगाडि बढाइरहेको जानकारी गराउँदछु ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सम्मिलित कार्यदलले २०७९ सालमा कर्णालीमा विद्युतीकरण हुन बाँकी एक लाख १ हजार १८७ घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी ‘लास्ट माइल विद्युतीकरण योजना’ तयार गरी कार्यान्वय भइसकेको अवस्था उनले बताए ।
कर्णाली प्रदेशमा प्रसारण तथा सबस्टेशनतर्फ पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “१३२ केभी सुर्खेत सबस्टेशन हाल सञ्चालनमा आइसकेको छ । ३२ किलोमिटर लामो डबल सर्किट १३२ केभी सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणाधीन र आगामी असार महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
वैकल्पिक ऊर्जातर्फ पनि सरकारले समानान्तर रूपमा काम अघि बढाइरहेको बताउँदै उहाँले एसियाली विकास बैंकको ऋण सहयोगमा आठ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सौर्य विद्युत् आयोजना सुरु गरिएको उल्लेख गरे ।
“यसका लागि दैलेख, रुकुम पश्चिम र जुम्लामा जग्गा छनोट भइसकेको छ । साथै, दुर्गम वडाहरूमा सोलार होम सिस्टम, साना जलविद्युत् तथा सोलार मिनीग्रिड निर्माणका लागि बजेटसमेत विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको निवदेन गर्दछु”, उनले भने ।
अब कर्णाली ‘विद्युत् पहुँच पुगेको प्रदेश’ मात्र होइन, विश्वसनीय, गुणस्तरीय र दिगो विद्युत् सेवा पुगेको प्रदेश बन्ने दिन धेरै टाढा नभएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसका लागि कर्णाली प्रदेश विद्युतीकरण आयोजनालाई दुई चरणमा अघि बढाउने योजना रहेको जानकारी दिए ।
प्रकाशित समय : १६:१२ बजे


















