काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समुदायसँगै विपद् प्र्रतिकार्यका पहल

2.54K
shares

सुदूरपश्चिम।गत असार २८ गते कैलालीको गोदावरी नदी एक्कासी उर्लेर आयो । केही क्षणअघि सामान्य देखिएको नदीले एकाएक रौद्र रूप लियो । बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्ल नदीको बीच भागको बगरमा थुनिए । चारैतिर बाढीको भेल थियो । अगाडि बढ्ने बाटो थिएन, फर्किने सम्भावना थिएन ।

मल्लका लागि प्रत्येक मिनेट मूल्यवान् थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको उद्धार टोली परिचालित भयो । केहीबेरमै अपिल सकुशल बाहिर निकालिए । त्यसअघि गत जेठ २ गते गोदावरी—११ ओलानीमा रुखमा अड्किएका ७३ वर्षीय लालबहादुर सुनारलाई सूचना पाएलगत्तै सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गर्योे । यही साउन १२ गते कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका टोल नजिक महाकाली नदीको बीच भागमा फसेका ४५ वर्षीय रामबहादुर सिंहको पनि समयमै प्राप्त सूचनाका आधारमा सकुशल उद्धार भयो ।

यही वर्षको मनसुनमा सुदूरपश्चिममा यस्ता दृश्य पटक–पटक दोहोरिए । दोधाराचाँदनी नगरपालिका–१० का नरेन्द्र बुढाका लागि यस्ता घटना केबल प्राकृतिक विपत्ति होइनन्, कहिल्यै नबिर्सिने स्मृति पनि हुन् । विपद्का प्रसङ्ग आउनेबित्तिकै उनलाई २०६५ असोजको घटना याद आउँछ । महाकाली नदीको बाढी पस्दा त्यसबेला स्थानीय शान्ति टोलमा नौ जनाले ज्यान गुमाएका थिए । बाढीले बस्ती तहसनहस भएको थियो । त्यस घटनाले सिङ्गो समुदायलाई वर्षौं सम्म त्रसित बनायो तर समयसँगै धेरै कुरा फेरिए । विसं २०८१ असारमा फेरि महाकाली उर्लियो । शान्ति टोल र कटाराखल्लालगायत क्षेत्र डुबानमा परे । घर, पशुचौपाया र धनमालमा धेरै क्षति पुग्यो, तर मानवीय क्षति भएन । बुढा भन्नुहुन्छ, “उस्तै प्रकृतिका घटनामा पनि समयमै सूचना, छिटो उद्धार र प्रभावकारी प्रतिकार्य हुन सके धेरै जीवन बचाउन सकिँदो रहेछ । पछिल्ला वर्षमा सूचना प्रविधि, सुरक्षा निकायको तयारी र नागरिकको जागरुकताले ठूलो परिवर्तन ल्याएको छ ।”

समयमै सूचना, समयमै उद्दार
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिग्विजय सुवेदीका अनुसार सफल उद्धारको आधार आधुनिक उपकरणसँगै समयमै प्राप्त हुने सूचना पनि हो । त्यसैले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसँगै समुदायसँगको सहकार्यलाई पनि जोड दिएको छ ।

त्यसका लागि समुदाय विपद् स्वयंसेवक र वडातहसम्म विपद् सूचक सञ्जालमार्फत सहकार्यको हात बढाइएको डिआइजी सुवेदीले बताए। उनका अनुसार समुदायसँगको प्रत्यक्ष सम्पर्कले जोखिमको सूचना छिटो प्राप्त हुन्छ र उद्धार टोलीलाई समयमै परिचालन गर्न सहज बनाउँछ ।

सशस्त्र प्रहरी बल नेपाल, कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसी पनि विपद्को पहिलो सूचना नै सबैभन्दा महत्वपूर्ण हुने बताउ५न् । उनका अनुसार उद्धारकर्तासँग सीप र उपकरण भए पनि सूचना ढिलो पुग्यो भने क्षति बढ्न सक्छ । त्यसैले सूचना प्रणालीलाई प्रविधि र समुदाय दुवैसँग जोडिएको छ ।

गाउँ–टोलमै विपद् स्वयंसेवक
सशस्त्र प्रहरी बलले देशभरजस्तै सुदूरपश्चिममा विपद् व्यवस्थापनको नयाँ अभ्यास गरिरहेको छ । गाउँ–टोलसम्म समुदाय विपद् स्वयंसेवक र विपद् सूचक सञ्जाल बनाइएको छ । घटना हुनेबित्तिकै ती सञ्जालमा रहेका व्यक्तिले सुरक्षा निकायलाई खबर गर्छन् । यही प्रारम्भिक सूचनाले धेरैपटक उद्धारको गति निर्धारण गर्छ । डिआइजी सुवेदीका अनुसार प्रदेशभर नौ सयभन्दा बढी समुदाय विपद् स्वयंसेवक तयार गरिएका छन् । यसरी तयार गरिएका अधिकांश स्वयंसेवकलाई पाठ्यक्रममा आधारित १८ दिने तालिम दिइएको छ ।

वडा तहसम्म सूचना सञ्जाल विस्तार गरी १९ हजारभन्दा बढी विपद् सूचक परिचालन गरिएका छन् । “उनीहरूले १११४ नम्बरमार्फत तत्काल विपद् तथा सुरक्षासम्बन्धी सूचना उपलब्ध गराउँछन्, जसले हामीलाई परिचालित हुन सहयोग पुगेको छ”, उनि भन्छन्, “एकोहोरो सूचना लिने मात्रै होइन, बेलाबेला हाम्रो योजना र उनिहरुका अपेक्षाबारे पनि कुराकानी हुन्छ । समुदायसँग जोडिन र सूचना आदानप्रदान गर्न यो अभ्यास निकै उपयोगी भइरहेको छ ।”

विपद् स्वयंसेवक लक्ष्मण दमाई यस प्रकारको सञ्जाल र सामुदायिक साझेदारी विपद्सँग जुध्न र समस्यामा परेकाहरुको उद्दार गर्न निकै उपयोगी र प्रभावकारी भइरहेको बताउछन् । “यही साउन १२ गते महाकालीमा फसेका रामबहादुर सिंहको उद्धारका लागि हामीले नै सूचना दिएका थियौँ । त्यो एउटा सूचनाले उनको ज्यान बच्यो । विपद्को समयमा तत्काल सूचना दिने सञ्जाल नबनेको भए यो सम्भव नहुन पनि सक्थ्यो । यसर्थ विपद्सँग जुध्न र छिटो उद्धार गर्न यसले निकै सहयोग पुगिरहेको छ”, उनले भने।

विपद्सँग लड्ने सबैभन्दा प्रभावकारी उपाय भनेको समयमै सूचना, दक्ष जनशक्तिको छिटो परिचालन र समुदायको सक्रिय सहभागिता हो । पछिल्लो समय सशस्त्र प्रहरी बलले देशभर कार्यान्वयन गरिरहेको सूचना प्रणाली र सक्रियताले विपद् उद्धार तथा प्रतिकार्यमा राम्रो उदाहरण दिइरहेको छ । “जब समुदाय स्वयं पहिलो सूचना प्रणाली बन्छ, प्रविधिले त्यसलाई तुरुन्तै उद्धार प्रणालीसँग जोड्छ, तब सुरक्षा निकाय तत्काल परिचालित हुन्छ । यसले विपद् केबल क्षतिको कथा बन्न छोड्छ, त्यो आवश्यक तयारी, सहकार्य र जीवन बचाउने साझा आधार बन्छ”, एसपी केसी भन्छन् ।

प्रविधिले बोलाउँछ उद्धार टोली
हाल विपद्को सूचना केबल फोन कलमा सीमित छैन । सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको ‘लुना आइओटी प्रणाली’ पनि विपद् प्रतिकार्यमा निकै उपयोगी भएको छ । प्राप्त जानकारीअनुसार यस प्रणालीले केही सेकेण्डमै उद्धार केन्द्रलाई सचेत गराउन सक्छ । सूचना प्रणालीमा जडित उपकरणको हरियो बटन केही क्षण थिच्नेबित्तिकै घटनास्थल (जीपीएसमार्फत) सहितको सूचना नियन्त्रण कक्षमा पुग्छ । साइरन बज्छ । स्क्रिनमा घटनास्थल देखिन्छ । त्यही आधारमा सबैभन्दा नजिकको उद्धार टोली तत्काल परिचालित हुन्छ ।

यसका अतिरिक्त मोबाइल एप र टोल–फ्री नम्बर १११४ मार्फत पनि बाढी, पहिरो, आगलागी तथा अन्य विपद्का सूचना पठाउने व्यवस्था गरिएको वैद्यनाथ बाहिनीले जनाएको छ । यी प्रविधिले सूचना पुग्ने समय घटाएको छ भने समुदायले सूचना पुग्ने पहुँच विस्तार गरेको छ ।

सशस्त्र प्रहरीले सुदूरपश्चिममा तीन वटा करिडोर पहिचान गरी विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाएको छ । सडक दुर्घटना हुने लोकमार्ग, नदी करिडोर तथा पहिरो र डुबान प्रभावित क्षेत्रलाई प्राथमिक जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाइएको छ ।

त्यसअनुसार कैलालीको डुडेझारी, डोटीको बुडर र डडेल्धुराको अमरगढीमा विपद् व्यवस्थापन ‘डेस्क’ स्थापना गरिएका छन् । कैलालीको चुरे, बझाङको चैनपुर, बैतडीको पुर्चौडी, अछामको तासीलगायत नौ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा छन् । हाल आवश्यक पर्दा करिब एक हजार दक्ष जनशक्ति एकैपटक परिचालन गर्न सकिने व्यवस्था छ । तीमध्ये ३२० जना विशेष तालिम प्राप्त उद्धारकर्मी र १२ जना गोताखोर तयारी अवस्थामा रहेका डिआइजी सुवेदीले जानकारी दिए ।

अबको चुनौती र अपेक्षा
कठिन भूगोल र प्राकृतिक अवस्थाका कारण नेपाल विपद्को उच्च जोखिममा छ । त्यसैमा जलवायु परिवर्तनले थप चुनौती निम्त्याइरहेको छ । मौसमको स्वरूप परिवर्तन हुँदै गएको छ । लामो समय पानी नपरे पनि केही घण्टाको मुसलधारे वर्षाले ठूलो क्षति निम्त्याउने क्रम बढिरहेको छ ।

सुदूरपश्चिम त झन् जोखिममा छ । यहाँ पछिल्ला दश वर्षमा बाढी, पहिरो, भारी वर्षा र चट्याङका एक हजार ३२९ मनसुनजन्य विपद्का घटना भएको तथ्याङ्क छ । ती घटनामा २७७ जनाले ज्यान गुमाए भने ५४ जना बेपत्ता भए । यस्तै, ६७५ जना घाइते भए र १० हजार ७०० परिवार प्रत्यक्ष प्रभावित भए । हजारौँ घर, पुल, गोठ र पशुचौपायामा क्षति पुग्यो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१ मा २६१ मनसुनजन्य घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्ष असार २६ गतेसम्म सर्पदंश, आगलागी, जनावरको आक्रमण, भारी वर्षा, बाढीलगायत विभिन्न विपद्का ९२६ घटना भए । ती घटनामा ३५ जनाको मृत्यु भयो भने एक हजार ४२८ परिवार प्रभावित भए ।

जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका अनुसार यस वर्षको मनसुनजन्य जोखिम विश्लेषणमा सुदूरपश्चिममा सात हजार ६०३ परिवारका ३३ हजार २२७ जना प्रभावित हुने अनुमान रहेको छ । जिल्लागत हिसाबमा कञ्चनपुरमा सबैभन्दा बढी सात हजार १३२ र सबैभन्दा कम दार्चुलामा एक हजार ४६७ जना प्रभावित हुने अनुमान छ । यस्तै, कैलालीमा छ हजार १९५, डोटीमा चार हजार ८२०, बाजुरामा तीन हजार ७७६, बैतडीमा तीन हजार ३६२, बझाङमा एक हजार ७६४ र अछाममा एक हजार ६०२ जना प्रभावित हुने तथ्याङ्क छ ।

जोखिमको यस्तो अवस्थामा विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारले विभिन्न संरचना र विकास साझेदारको सहयोगमा विविध कार्यक्रम गरिरहेका छन् । स्थानीय तहसँगको सहकार्य पनि क्रमशः सुदृढ बन्दै गएको छ । यही सहकार्यका कारण सशस्त्र प्रहरी बललाई गत आर्थिक वर्षमा विभिन्न १० वटा पालिकाबाट १० वटा ‘¥याफ्ट बोट’ प्राप्त भएपछि उद्धार क्षमता अझ विस्तार भएको छ । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय सरकारबीचको समन्वयले प्रतिकार्यलाई थप प्रभावकारी बनाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

करिब २७ लाख जनसङ्ख्या, नौ वटा जिल्लाको जटिल भूगोल, महाकाली, कर्णाली, सेतीजस्ता ठूला नदी भएकाले यहाँ सबै तहले थप तयारी र सतर्कता अपनाउन जरुरी रहेको जानकारहरु बताउँछन् । हाल प्रदेशभर हुने डुबानलगायत समस्यामा उद्धारका लागि सशस्त्रसँग १२ जना मात्रै गोताखोर छन् । तिनलाई परिचालनका लागि पर्याप्त स्रोतसाधन छैन, तर प्रदेश सरकारले छुट्याएको बजेटसमेत खर्च हुन सकिरहेको छैन । गत आर्थिक वर्षमा उद्धार उपकरणलगायत सामग्री खरिद र गोताखोरलाई तालिम दिने भनेर प्रदेश सरकारले छुट्याएको बजेटसमेत खर्च गरिएन ।

सबै तहका सरकार र संरचनाले थप समन्वयका साथ काम गरी विपद् जोखिम न्यूनीकरणमा थप काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । यसरी मिलेर काम गर्न सुदूरपश्चिममा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना कार्यान्वयनमा छन् । त्यसअनुसार प्रदेश, जिल्ला र स्थानीय तहसम्म आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा तीनै तहमा विपद् व्यवस्थापन परिषद् र समिति छन् । सुरक्षा फौजसँग रहेका जनशक्तिलाई स्रोतसाधन सम्पन्न बनाउँदै समुदायस्तरमा रहेका विपद् स्वयंसेवक र विपद् सूचक सञ्जाललाई ती समितिले संस्थागत रूपमा जोड्न सके यसको प्रभावकारिता थप बढ्ने धेरैको विश्वास छ । डिआइजी सुवेदी पनि विशेषगरी स्थानीय तहले समुदायमा रहेका स्वयंमसेवक र विपद् सूचकलाई आफ्नै प्रणालीको हिस्सा बनाउँदै विपद् व्यवस्थापन अझ दिगो बनाउनुपर्ने सुझाव दिन्छन् ।