दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
वि.सं.२०८३ साउन २२ शुक्रवार ११:४७
shares
काठमाडौं। मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशका विभिन्न क्षेत्रबाट आएका ६५ जना प्रतिस्पर्धीले अडिसनमा सहभागिता जनाएका छन्।
आयोजकका अनुसार अडिसनमा सहभागीमध्ये २५ जना अर्को चरणका लागि छनोट हुनेछन्। प्रतियोगिता ग्लोबल ग्ल्यामर भेन्चर प्रालिले आयोजना गरेको हो भने दिपल शीर्ष प्रायोजकका रूपमा रहेको छ।
यस वर्ष प्रतियोगिताको मूल नारा ‘Perfect As You Are’ राखिएको छ। आयोजकका अनुसार प्रतियोगिताले निश्चित सौन्दर्यको मापदण्डभन्दा बाहिर रहेर सहभागीको मौलिक पहिचान, व्यक्तित्व र आत्मविश्वासलाई प्राथमिकता दिएको छ।
अडिसनका क्रममा प्रतिस्पर्धीहरूले निर्णायक मण्डलसमक्ष आफ्नो व्यक्तित्व, प्रस्तुतीकरण क्षमता र आत्मविश्वास प्रदर्शन गरेका थिए।
दिपलका प्रबन्ध निर्देशक विवेक सिकारियाले आत्मविश्वास नै वास्तविक सुन्दरता भएको उल्लेख गर्दै मिस युनिभर्स नेपालसँगको सहकार्यले उक्त सन्देशलाई थप व्यापक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले प्रतियोगिताले युवतीहरूलाई आफ्नो प्रतिभा र विचार अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा समेत योगदान पुर्याउँदै आएको बताइन्। प्रतियोगितामा सहभागी धेरै युवतीले विभिन्न क्षेत्रमा सफल करियर निर्माण गरिरहेको उनको भनाइ थियो।
काठमाडौं अडिसन सम्पन्न भएसँगै आयोजकले सहभागीहरूको मूल्याङ्कन गरी अर्को चरणका लागि अन्तिम छनोट प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतियोगिताको अन्तिम विजेताले विश्वकै प्रतिष्ठित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

























