गृहपृष्ठ एनएमबि सरल बचत फण्ड–इका इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल
एनएमबि सरल बचत फण्ड–इका इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल
काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ (NMB Saral Bachat Fund–E) ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार गत असार मसान्तसम्म कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९ सय ७८ रुपैयाँ ४० पैसाको इकाई पुँजीका आधारमा कुल २५ करोड ६८ लाख १७ हजार १ सय ८८ रुपैयाँ ८७ पैसा बराबरको नगद प्रतिफल वितरण गरिनेछ।
प्रतिफल प्राप्त गर्न साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ता मात्र योग्य हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रतिफल वितरण नियामकीय व्यवस्था अनुरूप पारदर्शी र व्यवस्थित ढंगले गरिनेछ। लाभांश पुनर्लगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान–डीआरआईपी) रोजेका इकाईधनीले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गर्न सक्नेछन् भने पुनर्लगानीमा सहभागी नभएका इकाईधनीको हकमा कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा रकम जम्मा गरिनेछ।
एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।
कम्पनीले लगानीकर्तालाई आफ्नो बैंक खाता तथा व्यक्तिगत विवरण अद्यावधिक राख्न आग्रह गर्दै प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आधिकारिक माध्यम वा कम्पनीको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रकाशित समय : ११:४२ बजे

















