गृहपृष्ठ आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा तुलसी मोठमा सार्ने तथा चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा आजदेखि सुरु भएको छ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आज तुलसी मोठमा सारिन्छ। वैदिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिने भएकाले हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास रहेकाले यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ। भगवान् विष्णुको चार महिनाको शयन अवधिलाई ‘चतुर्मासा’ पनि भनिन्छ।
वैदिक परम्पराअनुसार वर्षभर २४ वटा एकादशी पर्ने भए पनि सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासामा पर्ने आठ एकादशी वा कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरेर व्रत बस्ने चलन छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार गर्ने गरिन्छ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको उल्लेख्य भीड लागेको छ।
धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि औषधीय गुणयुक्त वनस्पतिका रूपमा मानिन्छ। तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगका उपचारमा सहयोग पुर्याउने विश्वास छ। वास्तुशास्त्रमा पनि तुलसीको मोठले सकारात्मक ऊर्जा प्रवाह हुने मान्यता रहिआएको छ।
चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग प्रतीकात्मक विवाह गराइन्छ। त्यसपछि हवनसहित चतुर्मासा व्रतको उद्यापन गर्ने वैदिक परम्परा रहेको छ।
प्रकाशित समय : ०५:१९ बजे



















