गृहपृष्ठ नेपालमा सामसङको ग्यालेक्सी A27 5G सार्वजनिक, एआई सुविधा र ६ वर्षसम्म सफ्टवेयर सपोर्ट
नेपालमा सामसङको ग्यालेक्सी A27 5G सार्वजनिक, एआई सुविधा र ६ वर्षसम्म सफ्टवेयर सपोर्ट
काठमाडौं — सामसङ नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी A27 5G सार्वजनिक गरेको छ। कम्पनीले यो स्मार्टफोन युवा पुस्तालाई लक्षित गर्दै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सुविधा, उच्च रिफ्रेस रेट भएको डिस्प्ले, दीर्घकालीन सफ्टवेयर सपोर्ट र सहज किस्ता सुविधासहित बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार ग्यालेक्सी A27 5G मा प्रिमियम स्मार्टफोनमा पाइने एआई सुविधालाई तुलनात्मक रूपमा किफायती मूल्यमा उपलब्ध गराइएको छ। नयाँ मोडलमा ६ वर्षसम्म सफ्टवेयर तथा सुरक्षा अपडेट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजमार्फत एआई प्रविधिलाई अझ धेरै प्रयोगकर्ताको पहुँचमा पुर्याउने लक्ष्य राखिएको बताए। उनका अनुसार कम्पनीले सुरु गरेको २४ महिनासम्मको ईएमआई सुविधा ले ग्राहकलाई सुरुवाती भुक्तानीबिनै स्मार्टफोन खरिद गर्न सहज बनाउनेछ।
ग्यालेक्सी A27 5G मा ६.७ इन्चको FHD+ सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसमा १२० हर्ज रिफ्रेस रेट तथा इन्फिनिटी–ओ पन्च–होल डिजाइन समावेश गरिएको छ। कम्पनीका अनुसार यसले भिडियो हेर्ने, गेम खेल्ने तथा अन्य सामग्री प्रयोग गर्दा अझ राम्रो दृश्य अनुभव प्रदान गर्छ। फोन ब्ल्याक, लाइट ग्रिन र लाइट पिंक रङमा उपलब्ध हुनेछ।
कार्यसम्पादनका लागि फोनमा ४ एनएम स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले मल्टिटास्किङ, भिडियो स्ट्रिमिङ र एआई एप प्रयोग गर्दा सहज अनुभव दिनेछ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा (OIS सहित), ५ मेगापिक्सेल अल्ट्रा–वाइड, २ मेगापिक्सेल म्याक्रो तथा १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ। यस्तै, ५ हजार एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।
सामसङका अनुसार ग्यालेक्सी A27 5G मा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा पनि समावेश गरिएको छ, जसले मिटिङ, कक्षा वा कुराकानीलाई स्वचालित रूपमा टेक्स्टमा रूपान्तरण गर्न सहयोग पुर्याउँछ। फोनले गुगल जेमिनी र पर्प्लेक्सिटी जस्ता एआई असिस्टेन्टलाई पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ। साथै, Samsung Knox Vault सुरक्षा प्रणाली र IP64 स्तरको धूलो तथा पानी प्रतिरोधी सुविधा पनि समावेश गरिएको छ।
नेपाली बजारमा फोनको ६ जीबी र्याम/१२८ जीबी स्टोरेज संस्करणको मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ तथा ८ जीबी र्याम/५१२ जीबी स्टोरेज संस्करणको मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ फोन खरिद गर्ने ग्राहकका लागि २४ महिनासम्मको किस्ता सुविधा, पुरानो फोन साट्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस तथा १२० जीबी एनसेल डाटा उपलब्ध गराउने अफर पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार २४ महिनाको ईएमआई योजनाअन्तर्गत ग्राहकले ६ जीबी र्याम मोडल रु. १,५१९ र ८ जीबी र्याम मोडल रु. १,८९९ मासिक किस्तामा सुरुवाती भुक्तानीबिनै खरिद गर्न सक्नेछन्।
प्रकाशित समय : १७:५१ बजे



















