गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट छनोट भएका बिरामीको डडेलधुरास्थित गेटा आँखा अस्पतालमा शल्यक्रिया गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा आँखाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ११ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको भए पनि स्वास्थ्य अवस्थाका कारण दुई जनाको शल्यक्रिया हुन नसकेको बैंकले जनाएको छ। बाँकी नौ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ।
उक्त शिविरमा सात सयभन्दा बढी स्थानीयको निःशुल्क आँखा परीक्षण गरिएको थियो। त्यसमध्ये ४८७ जनालाई निःशुल्क चस्मा तथा ६०० जनालाई आवश्यक औषधि वितरण गरिएको बैंकले जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदायमा आधारित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : १७:५४ बजे



















