काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड

1.26K
shares

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्‌को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए ।

उनले भने, ‘सरकारी कामका सार्वजनिक अभिलेख शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा यसको प्रयोग विस्तार गर्न सरकारले स्पष्ट नीति आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनु पर्छ । शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट पनि राज्य विमुख हुनु हुँदैन ।’

नेपाल संवत् केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक योगदान सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको उल्लेख गरे ।

‘शंखधर साख्वाको जीवनले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने महत्वपूर्ण सन्देश दिएको छ । यही मूल्य आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा आत्मसात् गर्न आवश्यक छ’, उनले भने ।

सभामुख अर्यालले नेपाल संवत् आन्दोलनले भाषा, लिपि, संस्कृति र पहिचानको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान गरेको बताए । आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता प्रदान गरिनु महत्वपूर्ण उपलब्धि भए पनि मान्यतालाई घोषणामा मात्र सीमित राख्न नहुने उनले बताए ।

मौलिक संस्कृति र सम्पदा विगतको सम्झना मात्र नभई भावी पुस्ताको पहिचान र भविष्यको आधारसमेत भएको उल्लेख गर्दै उनले आधुनिक विकाससँगै मौलिकता जोगाउनु आजको आवश्यकता रहेको बताए ।

उनले इतिहास र संस्कृतिको संरक्षण, सार्वजनिक जीवनमा इमानदारी र जवाफदेहिता कायम तथा विविधताबीचको एकता र सामाजिक सद्भावलाई बलियो बनाउने संकल्प गर्न पनि सबैलाई आग्रह गरे ।

सभामुख अर्यालले नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, एकता, समृद्धि र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन् ।