सन्दर्भ नेपाल संवत ११४७ : भिन्तुना आन्दोलनको उपलब्धि
वि.सं.२०८३ कात्तिक २४ मंगलवार १२:०५
shares

आखिर जनताको असन्तोष, आक्रोश, आन्दोलनको अगाडी निरङ्कुश सत्ता झुक्नुपयो । निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य सँगसँगै राज्य अनि यसअन्तर्गतका सम्पूर्ण संयन्त्रको मानसिकतामा परिवर्तन आयो, व्यवहार फेरियो । नेपाल संवत्को भिन्तुना आन्दोलनलाई हेर्ने शासन शक्तिको दृष्टिकोण फेरिए । नौलो परिवर्तनसँगै वातावरण नै नयाँ भएको अनुभव भयो ।
नेपाल संवत् नववर्षको उपलक्ष्यमा ने.सं. १११० म्हपुजाको दिन बसन्तपुरमा भएको आमसभामा स्वेच्छाले अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सहभागी हुनु भयो । साथै सोहि मन्त्रिमण्डलका अन्य सदस्य मन्त्रीहरू साधना प्रधान, मथुराप्रसाद श्रेष्ठ, योगप्रसाद उपाध्याय, मार्सल जुलुस शाक्यहरू पनि उपस्थित हुनु भयो । इतिहासमा सर्वप्रथम देशकै प्रधानमन्त्री नेपाल संवत् नववर्षको उपलक्ष्यमा भएको आमसभामा उभिएर शुभकामना सन्देश दिए । त्यस पश्चात् वर्षेनी प्रधानमन्त्री मुख्य अतिथि भएर नेपाल संवत् नववर्षको आमसभामा शुभकामना सन्देश दिने परम्परा हालसम्म यथावत छ ।
राजनीतिक स्थितिमा आएको परिवर्तनका कारण अनुभुत हुने गरिकन नै नेपाल संवत् नववर्षको भिन्तुना जुलुसमा विभिन्न राजनीतिक दल अनि त्यसका भ्रातृ सङ्गगठनहरूले आ–आफ्नो झण्डा नै बोकी सक्रियताका साथ सहभागी हुनथाले । साथै राजनीतिक सङ्गठनले पनि यस उपलक्ष्यमा शुभकामना आदान–प्रदान जलपान तुच्चा / समय्बजिको लागि आफ्ना समर्थक तथा कार्यकर्ताहरूको भेला गर्ने प्रचलन शुरु भयो । यसरी नै नेपाल संवत्को आन्दोलन राजनीतिक दलहरूको लागि पनि एउटा मुख्य मुद्दाको रूपमा स्थापित हुनपुगे ।
देशका सम्पूर्ण नेवारहरूको साझा प्रतिनिधि संस्थाको रूपमा ने.सं. १११५ यंलाथ्वः ७ र ८ दुई दिन काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट भक्तिदास श्रेष्ठको नेतृत्वमा नेवाः देय् दबू गठन भइसकेपछि यसको प्रथम पूर्वाञ्चल भेला झापाको विर्तामोडमा सम्पन्न भयो । सो भेलाको निर्णयअनुसार नेपाल संवत् १११६ चउलागाः २ को दिन सर्वसम्मतले एक घोषणापत्र जारी गरे । म्हपुजा गर्ने र म्हपुजाको दिन नेपाल संवत्को नववर्ष मनाएर शुभकामना आदानप्रदान गर्नु हाम्रो राष्ट्रिय संस्कृतिको विशेषता हो घोषणापत्रको मुख्य आसय थियो, यो । यसप्रकार नेपाल संवत् र शुभकामना आदानप्रदानलाई राष्ट्रिय संस्कृतिको विशेषता मानेर नेवारहरूको राष्ट्रिय संस्थाले सर्वसम्मत अङ्गीकार गरेपछि नेवार समुदायबीच यसले दीर्घकालीक र सकारात्मक प्रभाव पायो ।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुंदाको वर्ष ने.सं. ११२० कछलाथ्व १० को दिन नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःलाई नेपालको राष्ट्रिय विभूतिको रूपमा सरकारले घोषणा गरे । यही उपलक्ष्यमा कछलाथ्व १० को दिन वर्षेनी शङ्खधर स्मृति दिवसका रूपमा सार्वजनिक पर्व पनि मनाउँदै आइरहेको छ ।
नेपाल संवत्को आन्दोलन अझ सशक्त बनाउन र भोलिको दिन केकस्ता योजना ल्याइनुपर्छ भन्ने विषय नेवाः देय् दबूको आयोजनामा बौद्धिक छलफल सम्पन्न भयो। नेपाल संवत् ११२४ कौलागाः १४ को दिन भएको त्यस छलफलले हालसम्मको आन्दोलनका कार्यलाई लिपिबद्ध गर्ने र भोलिको लागि कसरी अघि बढ्न सकिन्छ भन्ने रणनीति बनाउने काम भयो । जुन निम्नानुसार छन् :
● सरकारी दस्तावेज आदिमा नेपाल संवत् अनिवार्य प्रयोगमा ल्याउन दवाब दिने ।
● नेपाल संवत् राष्ट्रिय संवत्को रूपमा सरकारी निकायहरूमा व्यवहारिक प्रयोगमा छ/ छैन भन्ने देशभरिको सूचना संकलन गरिकन जुन जुन निकायद्वारा प्रयोगमा ल्याइएका छन् तीनको सम्मान गर्ने र जुन जुन निकायले प्रयोगमा ल्याइएका छैन तिनलाई दबाव दिने ।
● राज्यद्वारा नेपाल संवत्को प्रयोगको स्थिति के कस्तो छ भन्नेबारे वार्षिक प्रतिवेदन सार्वजनिक गराउने ।
● शंखधर साख्वाः र नेपाल संवत्का सम्बन्धमा अध्ययन अनुसन्धानका लागि राज्यस्तरबाट एक अनुसन्धान प्रतिष्ठान गर्न लगाउने ।
● संयुक्त राष्ट्र संघमा नेपाल संवत् नयाँ बर्षका दिन ‘नेपाल डे’ रूपमा मनाउने परम्परा रहेकोमा हाल त्यो बन्द भएकोले त्यसलाई निरन्तरता दिन लगाउने
● नेपाल संवत् र शंखधर साख्वाःको स्मृतिमा राष्ट्रिय स्तरको पुरस्कार तथा सम्मानको व्यवस्था गराउने ।
● नेपाल संवत् नयाँ वर्ष मनाउनका लागि राज्यका तर्फबाट बजेटको व्यवस्था गराउने ।
● वित्तिय कारोवार तथा बैंकहरूमा नेपाल संवत् प्रयोगमा ल्याउन लगाउने ।
● नेपालको मुद्रामा नेपाल संवत् पनि उल्लेख गराउने ।
● आधुनिक विद्युतीय प्रविधिको माध्यमबाट नेपाल संवत् प्रयोग गर्न सक्ने बिषयमा योजनाबद्ध प्रचार प्रसार गर्ने ।
● नेवारहरूको आ–आफ्नो संस्कार/पर्व आदिमा नेपाल संवत् अनुसार मनाउने ।
● तिथिमिति अनुसार चाडपर्व सम्पन्न गरिंदा एक समुदायको परम्परालाई अर्को समुदायले सम्मान गर्ने तथा समुदाय विशेषको सांस्कृतिक विषयमा तर्क वितर्क वा बहसको विषय नबाइनकन प्रत्येक बर्षभरिको पर्व सूचना सार्वजनिक गर्ने ।
● सार्वजनिक रूपमा आयोजना गरिने कार्यक्रमका ब्यानरहरूमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने ।
● सर्वत्र शंखधर साख्वाःका शालीक निर्माण गर्ने अभियान चलाउने ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला बसन्तपुरको भिन्तुना कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उहाँले संवत्को प्रयोगबारे अध्ययन गर्न एउटा विज्ञ समूह गठन गरिने घोषणा गर्नुभयो । सोही घोषणअनुरूप ने.सं. ११२३ कछलागाः ११ मा पद्मरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय एउटा कार्यसमिति गठन गरियो । सो कार्यसमितिले चार महिनापछि सिल्लाथ्व ११ को दिन आफ्नो प्रतिवेदन सरकारलाई बुझायो। प्रतिवेदनमा ईस्वी संवत्लाई अन्तरराष्ट्रिय संवत् अनुरूप प्रचलनमा ल्याइरहेकोलाई निरन्तरता दिने, नेपाल संवत्लाई सरकारी क्यालेन्डर र आधिकारिक कामकाजमा प्रयोगमा ल्याउने र नेपालमा प्रचलनमा रहेका अन्य संवत्को सम्बन्धमा गहन अध्ययन गर्न एउटा उच्चस्तरीय कार्यसमिति बनाउने सिफारिस गरियो । यसैगरी शङ्खधर साख्वाः राष्ट्रिय प्रतिष्ठान चाँडै गठन गरिनुपर्ने सुझाव पनि सो प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय विभूति शङ्खर साख्वाःको तस्बिर अङ्कित गरी नेपाल सरकार, हुलाक विभागले ने.सं. ११२४ मा पाँच रूपैयाँ जाने हुलाक टिकट प्रकाशन गयो । त्यही वर्षदेखि सरकारी पत्रपत्रिकामा पनि नेपाल संवत्का तिथिमिति प्रयोगमा आउन थाल्यो ।
पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समय ने.सं. ११२८ मा बसन्तपुरमा भएको नववर्षको भिन्तुना यालीको मञ्चबाट नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइएको घोषणा भयो ।
विद्यालय तहको पाठ्यसामग्रीमा शङ्खधर साख्वाः को परिचयसहितको पाठ समावेश गर्ने कुरालाई नेपाल सरकारले ने.सं. ११३० को शिक्षा नीतिअनुरूप स्वीकार गयो ।
यसैगरी दाहाल प्रधानमन्त्री रहेकै समय सरकारले ने.सं. ११४४ म्हपुजादेखि नेपाल संवत्को तिथिमितिलाई सरकारी निर्णयका पुस्तिकामा उल्लेख गर्ने शुरु गर्यो ।
भिन्तुना आन्दोलनको प्राप्ति
नेपालभाषा मंकाः खलःको नेतृत्वमा भएको भिन्तुना आन्दोलनमा मूलतः नेवार समुदाय सबैभन्दा बढी सक्रिय रूपमा अघि देखापरे । त्यसले सरसर्ति हेर्दा यो आन्दोलन नेवार समुदायको लागि मात्र सरोकारको कुरा हो कि जस्तो देखिनु पनि स्वाभाविक थियो । नेवारहरू आफैले पनि यसलाई सोहीअनुरूप अपन्वत्व देखाउने गरिन्छ । तर भिन्तुना आन्दोलनले अघि सारेका राष्ट्रिय सम्पदा, मुद्दा मूलतः समग्र नेपालीको सरोकारका – राष्ट्रिय संस्कृति र राष्ट्रिय स्वाधिनताका कुरा थिए ।
वास्तवमा, कसरी र कुन तरिकाबाट नेपालको इतिहास, आफ्नो मौलिकता, राष्ट्रिय संस्कृति/सम्पदालाई राज्यबाट सम्मान दिलाउने वा मान्यता दिलाउने भन्ने प्रश्न सार्वजनिक रूपमा उठान गरिएको हो । अर्को अर्थमा यस आन्दोलनले अगाडी सारेको बिषय भनेको नेपाल देश अनि नेपालीहरूको स्वतन्त्र अस्तित्व, सार्वभौम पहिचानसँग सम्बन्धित अति सम्वेदनशील विषय हो । आन्दोलन जसरी बढदै गए, अनि यसले वृहत् रूप लिँदै गए, नेपाल संवत्सँग गाँसिएका नेपालको राष्ट्रियता र स्वाभिमानको कुरालाई पनि समाजले विस्तार बिस्तारै बुझ्दै गए । बौद्धिक क्षेत्रका धेरै व्यक्तित्वहरू सार्वजनिक रूपमै यस आन्दोलनको समर्थनमा अघि आए, जसले गर्दा कालान्तरमा राजनीतिक व्यक्ति अनि राज्यसत्तालाई पनि यस आन्दोलन प्रति सकारात्मक दृष्टिकोणले बुझ्न बाध्य बनायो ।
नेपाल एउटा सार्वभौम र स्वतन्त्र देश हो, नेपाल संवत् नेपाल राष्ट्रको मौलिक सम्पदा अनि नेपालको सामूहिक पहिचानको आधार हो भन्ने सम्वेदशील कुरा महसुस गरियो । सम्पदा, संस्कृतिको दृष्टिले नेपाल संवत्को महत्ता नेपालीको विशिष्ट पहिचानको रूपमा स्थापित भयो । अर्कोतर्फ नेवार समुदायभित्र पनि नेपाल संवत् आन्दोलन भन्नु नै आफ्नो समुदायगत पहिचानको आन्दोलनको प्रारम्भिक झिल्को भै सर्वत्र फैलियो ।
नेपाल संवत्को सन्दर्भसँग जोडिएका हाम्रो आफ्नै मौलिक संस्कृति, चाडपर्व, भाषा, साहित्य अनि सम्पदाको महत्वको सम्बन्धमा नयाँ पुस्ताबीच एक प्रकारको आत्मगौरवको भावना जागृत गरायो । तसर्थ यस आन्दोलनप्रति उनीहरू बढी आकर्षित भइदिए । यसरी भिन्तुना कार्यक्रममा सहभागी हुनु भनेको युवापुस्ताका लागि केवल मनोरञ्जनको क्षण मात्र भएन । बरु आफू को ? आफ्नो परिचय के हो ? भन्ने चेतना जगाए । जातीय आत्मसम्मानको यस खाले चेतना व्यक्त गर्ने चाहना अनुरूप उनीहरूले नेवार भेषभुषा लगाउनु, नेवार परम्परागत गरगहना लगाउनु अनि सांस्कृतिक बाजा / नृत्यलाई सगर्व अंगाल्ने परिस्थिति बने । जात्रापर्वमा आ–आफ्नो सांस्कृतिक पहिचानसहित सहभागी हुनमा यसले नयाँ पुस्तामा अपूर्व उत्साह जगाए । एकप्रकारले नयाँ पुस्ताबीच आफ्नो मौलिक संस्कृति प्रतिको यसरी दिन प्रतिदिन वढै गएको लगाव र आकर्षण आजको यस समयखण्ड एक किसिमबाट सांस्कृतिक पुनर्जागरणको कालजस्तै बनिदिएको छ । जुन यावत सम्पूर्ण कुराहरू विगत चार दशकदेखि चलिआएको नेपाल संवत् भिन्तुना आन्दोलनकै परिणाम हुन भन्नसक्छौ ।
यस आन्दोलनले ल्याएको अर्को सकारात्मक परिणाम हो एक समय उपत्यकाभित्र सङ्कुचित नेवारहरूको सङ्गठन स्वरूप नेपाल संवत्को माध्यमले देशका विभिन्न ठाउँमा र विभिन्न स्तर र स्वरूपमा फैलिंदै जानु पनि हो । जहाँ जहाँ नेवारहरू छन्, त्यहाँ त्यहाँ जिल्लास्तर, नगरस्तर अनि गाउँस्तरमा नेपाल संवत्को कार्यक्रम आयोजना गर्न नेवार सङ्गठनहरू गठन गर्ने क्रम बढ्दै गयो । पूर्व मेचीदेखि पश्चिम महाकाली अनि पहाडदेखि मधेससम्मका नेवारहरू आ–आफ्नो सुविधाअनुरूप संघसंस्थाहरू बनाएर सङ्गठित हुन सिके । नेपाल संवत्को भिन्तुना आन्दोलन यसका निम्ति एउटा राम्रो पृष्ठभूमि भइदिए । अन्ततः यसप्रकार देशव्यापी नेवार सङ्गठन विस्तार हुँदै जाँदा अन्ततः नेवारहरूको राष्ट्रिय स्तरको सङ्गठन नेवाः देय् दबू गठनका लागि राम्रो धरातल तयार भए ।
अर्कोतर्फ, भिन्तुना आन्दोलनको जुन प्रभाव छ, त्यसको परिणाम नेपालभाषा मंकाः खलःको सहजिकरण भूमिकामा नेपाल मातृभाषा परिषद, सर्वजातीय अधिकार मञ्च र अन्ततः नेपाल आदिवासी जनजाति महासङ्घ गठनका पूर्वाधार समेत तयार हुन पुग्यो ।
बाहिरबाट हेर्दा आज पनि भिन्तुना आन्दोलन नेवार समुदाय मात्रको सरोकारको कुरा जस्तो भ्रम हुनसक्छ । तर, भिन्तुना आन्दोलनले जसरी सांस्कृतिक संरक्षण, मौलिक सम्पदाप्रति आत्मगौरव अनि स्वपहिचानका मुद्दाहरू सार्वजनिक रूपमा अगाडि ल्यायो, अनि यस आन्दोलनले जसरी व्यापकता पाउँदै सफल भयो, यसले देशका सम्पूर्ण अन्य आदिवासी जनजाति समुदायको समेत ध्यान आकर्षित गयो । अनि उनीहरूले पनि भिन्तुना अभियानबाट सिकेर, बुझेर, अभिप्रेरित हुँदै ल्होसार भनी सडकमा आउन थाले । उभौली/उधौली भनी समुदायको ठूलो पर्व मनाउन सुरु गरे। तराई क्षेत्रमा छठको रौनक देखापयो । पश्चिम खसान क्षेत्रमा देउडाको मौसम लाग्यो । थारुहरूको माघी, थकालीको तोरन, मगरहरूको भुम्या पुजालाई आ–आफ्नो मौलिकता, गौरवको रूपमा अघि बढाउन शुरु गरे। अर्को हिसाबले भन्दा नेवारबाटै उत्साहित हुदै अन्य आदिवासी जनजातिहरूले पनि आ–आफ्नो सांस्कृतिक मौलिकता, विशेषतामा गर्व गर्न थाले । सही अर्थमा भन्नुपर्दा नेपालका आदिवासी जनजाति समुदायबीच यस आन्दोलनबाट आफ्नो पहिचानको चेतलाई जगाइदियो । राजनीतिक क्षेत्रमा पंचानलाई एउटा मुख्य मुद्दाको रूपमा समावेश गर्ने जुन वातावरण तयार भयो त्यसको पछाडि अदृश्य रूपमा भिन्तुना आन्दोलनले जगाएको सांस्कृतिक तरङ्गको कारण थियो भनेर बुझ्न सकिन्छ ।
लोककल्याण सामाजिक मूल्य
नेपाल संवत्लाई लिएर गहन अध्ययन गर्दा नेपालको इतिहासका धेरै महत्वपूर्ण पक्षहरू यससँग जोडिएर आउँछन् । नेपालमण्डलभित्रका बासिन्दाहरू जनजीवनका सांस्कृतिक, सामाजिक र जीवनसँग नेपाल संवत्को नङ र मासु शदियौंदेखि अन्तरसम्बन्धित रहँदै आएको छ। यस अर्थमा पनि यो एक जीवन्त सांस्कृतिक सम्पदा हो । यसबाट समग्र नेपालकै मौलिक पहिचान स्थापित गर्दै गरेकाले यस संवत् हामी सबैको आत्मगौरवको आधार बनेको छ ।
शङ्खधर साख्वाः यस सम्पदाका प्रवर्तक भएकाले सदा स्मरणीय एवं प्रशंसनीय प्रतिभा हुन् । त्यसैले हामीले उहाँलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्छौं, स्मरण गर्छौं ।
नेपाल संवत्को सन्दर्भमा देशमा चलिरहेको भिन्तुना आन्दोलन अनि नागरिक स्तरमा यस विषयको चिन्तन आफ्नै ठाउँमा छ । अध्येताहरूले पनि लामो समयअघिदेखि शङ्खधर अनि नेपाल संवत् विषयक बौद्धिक अध्ययन गर्दै आइरहेका छन्, अझै थप अध्ययन, शोध हुँदै जानेछ होला ।
तर नेपाल संवत् र शङ्खधरको योगदानलाई लिएर एउटा सम्पदा, ऐतिहासिक महत्वको एक घटना अथवा एकजना विशिष्ट व्यक्ति सम्बन्धित विषयको रूपमा मात्र बुझ्नु पर्याप्त हुन्न। नेपाल संवत् प्रवर्तनको जुन ऐतिहासिक कार्य भए त्यो कुनै एउटा परिघटना मात्र थिइन, त्यसको पछाडि तत्कालीन नेपालमण्डलको समाजमा रहेको गहिरो जीवनदर्शन र सामाजिक मूल्य पनि निहित थियो । समग्र मानवीय चेतलाई नै सही मार्गमा दोहोऱ्याउन उत्प्रेरित गरिरहेको त्यतिखेरको नेपालमण्डलभित्रको त्यस्तो एउटा निश्चित आस्था, परम्परा अनि जीवन पद्धति थियो त्यो नै आदर्श समाज निर्माणका आधार बने । त्यस्ता आदर्शमय व्यक्ति शङ्खधर वास्तवमा त्यसै सामाजिक परिवेशका एकजना पात्र मात्र थिए ।
शङ्खधर जन्मिएको तात्कालिन समयमा नेपालमण्डलको अत्यन्त मजबुत सामाजिक संरचना र स्वरूप भन्नु नै समुदायगत चिन्तन र सामाजिक पहल हो । गुथि, सर्व्वसङ्घ, विहार/बहिल जस्ता सामाजिक संगठन प्राचीन नेपालमण्डलभित्रका बलिया सामाजिक व्यवस्था थिए । असल हावापानी, राम्रो खेतीपाति, खानपिनका समस्या नभएको त्यसवेलाको आमजीवन । तर आफै मात्र खाउँ, आफै मात्र लगाउँ भन्दैन्थे । चाडपर्व, मेलाजात्रामा आफ्ना छरछिमेकीसंग मिलेर बाँडचुँड गरी रमाउने, खानपिन गर्ने एउटा आधारभूत सामाजिक शैली थियो । समय्बजि, दहिचिउरा, योमरि, छुस्यामुस्या (भुटेका गेडागुडी), पाउँ (अमिलो), साखःति (सख्खरपानी) आदि विभिन्न पर्व अवसरमा सबैमा बाँडिचुंडी खाने समुदायगत जीवन पद्धति नै थियो ।
लोकको उद्धार हुनुपर्छ, भलो गरिनुपर्छ भन्ने असल भावनामा फलेचा, सत्तल, चपाः बनाउने, धारा, कुवाः, पोखरी बनाउनमा नै आफ्नो ढुकुटीको, श्रीसम्पत्तिको सदुपयोग हुन भन्नेर ठान्ने सामाजिक मान्यता रह्यो । मन्दिर, चैत्य, बहाः बही बनाएर सम्यक, पञ्जरा, नरा जस्तो ठुल्ठुला दानकर्म, पुण्यकार्य गराउने त्यस समयमा गरिने लोककल्याणकारी कार्यका उदाहरण हुन् । त्यतिमात्र नभएर जात्रा, पर्व, पूजा, चाड आदि मनाउन सहज होस भन्ने असलचित्तले अकुट आयस्ताका रूपमा खेत (दत्तभूमि) को व्यवस्था गर्ने प्रचलन पनि त्यतिकै थियो ।
तिब्बतसँगको बलियो कुटनैतिक सम्बन्ध अनि ल्हासाको व्यापारबाट नेपालमण्डलका व्यापारीहरूले अकुत सम्पत्ति कमाएका धेरै प्रसङ्ग इतिहासमा पाइन्छन्। सयौं मानिसका लस्कर लिएर काठमाडौं–तिब्बत व्यापार गर्न जाने सार्थबाहहरूको साहसिक यात्रा, जीवन हाम्रो इतिहास छ । सिंहसार्थबाहु, केशचन्द्र, रत्नसङ्घ, प्रभुसङ्घ आदि आदि यस्ता पात्रहरू इतिहासमा भेटिन्छन्। सबैभन्दा महत्वको कुरा, यसप्रकार व्यापार गरी धनी भएकाहरूले आफ्नो श्रीसम्पत्ति वा आफ्नो घरपरिवारको सुख, सुविधा वा उपभोगको लागि मात्र भनेर कहिल्यै बसेन। आर्जन गरिएका धनसम्पत्ति समाजको लागि, लोकको उद्धारको काममा सदुपयोग हुनुपर्छ भन्ने उदात् चित्तको व्यवहार उनीहरूले देखायो । यथार्थमा ती एक प्रकारले त्यसबेलाको नेपालमण्डलभित्र सामाजिकस्तरमै एउटा आदर्शको रूपमा स्थापित लोककल्याणकारी मूल्यमान्यताको निरन्तरता थियो ।
वैदिक मान्यताअनुसार पनि दानदातव्यको चर्चा धेरै छ । नेपालको समाजमा यसको अनुशरण त्यसबेला धेरै थियो। शैवमार्गीहरूले अनेक प्रकारका दानशालाको व्यवस्था गरेका पाउँछौं । अर्कोतर्फ महायानी बौद्ध सम्प्रदायभित्र गहिरो जरा गाडेको दशपारमिताको जीवनदर्शन अनि त्यसमध्ये सर्वोत्कृष्ट आफूलाई कस्तो दानपारमिताको कुरा हुन्छ । बोधिचित्त खाले सुख, सुविधा र शान्तिको कामना हुन्छ, अरूलाई पनि सोहीप्रकारको कामना हुनुपर्छ भन्ने बुझेर अरूको कल्याणको लागि पालनागरिने एउटा जीवनशैली र मूल्य हो । यो सामाजिक मूल्य र मान्यता त्यस समयको नेपालमण्डलमा मात्र नभएर भारतवर्ष अनि तिब्बतसम्म फैलिएको थियो ।
चिनियाँ यात्री हुयन साङले भारतवर्ष कनौजका हर्षवद्र्धन राजा बुद्धको विशाल मूर्ति सामु बसेर आफ्नो देशमा जीवन निर्वाह गर्न कठिन समस्यामा रहेका प्रजावर्गलाई सम्पत्ति वितरण गर्दथे ।
मोक्षको नाम दिइएको यस्तो दानपर्व त्यस राजाले ११ दिनसम्म गरेका थिए भनी साङले लेखेका छन् । यसैगरी बौद्ध महापण्डित राहुल सांकृत्यायानको भनाइअनुसार तिब्बतमा पनि मु–नि–वचनपो भन्ने राजाले तीनपटकसम्म आफ्ना देशका प्रजालाई दरबारको सम्पत्ति बाँडिदिएका थिए । यसलाई सांकृत्यायनले आर्थिक साम्यवाद भनेका छन् ।
महायानी बौद्ध विद्वानहरू शान्तिरक्षित, आचार्य कर्मशील, भिक्षु ज्ञानेन्द्र, श्रीज्ञान, अतिशा आदि भारतबाट नेपाल भएर तिब्बत आउ जाउ गर्दथे, अनि बाटोमा पर्ने उपत्यकामा महिनौं बस्दथे । पद्मसम्भव, नारोपा र तिलोपा यस्ता सिद्धहरू पनि ध्यान तपस्याको लागि उपत्यका पुगिरहन्थे । त्यसबाट नेपाली समाजले ती महायानी बौद्ध विद्वानहरूबाट जीवन दर्शन, अध्यात्मक, बौद्ध धर्म आदिको प्रत्यक्ष ज्ञान लिने अवसर प्राप्त गर्यो । सम्भवतः त्यस्तै कालखण्डमा ज्ञान र जीवन दर्शनको सकारात्मक वातावरणमा हुर्केको नेपालमण्डलभित्रको समाजमा लोककल्याणको भावना एउटा मूलभूत जीवनदर्शनको रूपमा स्थापित भए । त्यतिबेलाको समाज उन्नत अवस्थामा पुगिसकेकोले इतिहासकारहरूले त्यस समयलाई नेपालको स्वर्णकाल भनी एकमतमा प्रशंसा गरेका छन् । समाजको चेतना उच्च रहेको अवस्थामा त्यतिबेलाका मानिसहरू आफूमात्र खानेपिउने, आफू मात्र जिउने भन्ने निजात्मकतामा नअल्झिएर सर्वजन र सर्ववर्गको भलो होस् भन्ने एउटा लोककल्याणको जीवन पद्धति अँगाले । यसरी समाज कल्याण र लोक उपकार तात्कालिन नेपालमण्डलको एउटा प्रमुख सामाजिक प्रवृत्ति अनि स्थापित मान्यता भइदियो ।
यही प्रवृत्तिलाई अङ्गिकार गरेका शङ्खधर साख्वाः, सोही समयका एकजना नेपाली, उनले यही लोकल्याणको आदर्शलाई व्यवहारमा उतारे, आफ्नो श्रीसम्पत्ति लोकको उद्धार, ऋणबाट मुक्त गर्ने उच्च कार्यका लागि अग्रसर भए ।
स्पष्टतः नेपाल संवत् र शङ्खधरसँग जोडिएका आधारभूत दर्शन र मान्यता भन्नु नै लोककल्याण हो । हामीले यसैलाई स्मरण गर्नुपर्छ र यसैलाई जोड दिइनुपर्छ ।

























