गृहपृष्ठ मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धन गर्न तालिम
मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धन गर्न तालिम
भोजपुर ।मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै पर्यटकलाई गुणस्तरीय तथा पर्यटकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा होटल तथा हस्पिटालिटी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।
तालिमकका सहभागीलाई पर्यटकमैत्री सेवा प्रदान, होटल व्यवस्थापनका आधारभूत सिद्धान्त, सरसफाइ तथा स्वच्छता कायम गर्ने उपाय, आतिथ्य सत्कारका विधि, खाद्य सुरक्षा, ग्राहक सेवा तथा पर्यटन व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप सिकाइने छ ।
गाउँपालिकाको पहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय होटल व्यवसायी, होमस्टे सञ्चालक तथा पर्यटनसँग आबद्ध व्यक्तिको सहभागिता रहेको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्ग टेम्केमैयुङ क्षेत्रको महत्वपूर्ण पर्यटकीय सम्पदा भएकाले यसको प्रवर्द्धन र व्यवस्थित विकासका लागि स्थानीय तहले विशेष पहल गरिरहेको बताए ।
“पर्यटकलाई आकर्षित गर्न केवल प्राकृतिक सौन्दर्य मात्र पर्याप्त हुँदैन”, अध्यक्ष बस्नेतले भन्े, “गुणस्तरीय सेवा र आतिथ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस तालिमले स्थानीय व्यवसायीलाई सक्षम बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउनेछ ।”
उपाध्यक्ष रमादेवी राईले पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादन र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन।
प्रकाशित समय : ११:२१ बजे



















