global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायतमा पहिलो धार्मिक भेला सम्पन्न, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव आयोजना हुने

बेलायतमा पहिलो धार्मिक भेला सम्पन्न, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव आयोजना हुने

बेलायतमा पहिलो धार्मिक भेला सम्पन्न, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव आयोजना हुने

लन्डन । पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले पश्चिम लन्डनमा नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुबेर सुवेदीले बेलायतमा सनातन धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवद्र्धनका लागि पश्चिम लन्डनमा एक बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए ।

उनले मन्दिर निर्माण मात्र नभई सांस्कृतिक जागरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भगवानको दिव्य मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको स्थापना समुदायको साझा अभियान हुनुपर्ने बताए । ‘मन्दिर निजी होइन, सामुदायिक हुन्छ । सनातन धर्म र संस्कृतिको संरक्षण गर्नु सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनले भने ।

सुवेदीले आगामी एक वर्षभित्र बेलायतमा भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने योजना रहेको जानकारी दिँदै तन, मन र धनले सहयोग गर्न समुदायलाई आह्वान गरे । उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू एउटै स्थानबाट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय भवन निर्माण गर्नुपर्ने सुझाव पनि दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे ।

दुवाडीले केन्द्रलाई सुरुदेखि नै बहुउद्देश्यीय बनाउने सुझाव दिँदै त्यहाँ धार्मिक अनुष्ठान, व्रतबन्ध, पास्नी, विवाह तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिने बताए । नयाँ पुस्तालाई संस्कार, अनुशासन र सत्संगको शिक्षा दिन समेत यस्तो केन्द्र उपयोगी हुने उनको भनाइ थियो ।
गुरु चिरञ्जीवी ढकालले समुदायको साथ र सहयोग प्राप्त भए पश्चिम लन्डनमा मन्दिर निर्माणको सपना अवश्य साकार हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्ष धार्मिक महोत्सव आयोजना गरेर अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए ।

कार्यक्रमका सभापति तथा धर्म दर्शन सांस्कृतिक केन्द्रका अध्यक्ष सहदेव गिरीले पश्चिम लन्डनमा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणको अवधारणा पण्डित कुबेर सुवेदीको प्रेरणाबाट अघि बढाइएको बताए ।

उनले पश्चिम लन्डनमा यस्तो केन्द्रको आवश्यकता लामो समयदेखि महसुस गरिएको उल्लेख गर्दै अभियान अब नरोकिने र मन्दिर अवश्य निर्माण हुने विश्वास व्यक्त गरे।

दक्षिण पूर्वी लन्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर स्थापना गर्दाको अनुभव साझा गर्दै गिरीले आर्थिक स्रोत जुटाउनु मात्र नभई समुदाय परिचालन, स्थानीय निकायका नियमको पालना र सबैको सहयोग प्राप्त गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु