गृहपृष्ठ मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिजाललाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएको जानकारी दिएका हुन् । शुक्रबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,’ नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा. मिनेन्द्र रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ ।’
कांग्रेस विधानको दफा २१ (१०) अनुसार कम्तीमा दस वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
रिजाल कांग्रेसको गत महाधिवेशनमा कोइराला समूहबाट महामन्त्री पदमा उम्मेदवार बनेका थिए । महामन्त्रीमा पराजित भएसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।
यसपटक प्रतिनिधिसभा सदस्यका लागि मोरङ–२ बाट आकांक्षी भए पनि टिकट भने सुजाता कोइरालाई दिइएको थियो । कोइराला गत चुनावमा एमाले उम्मेदवार ऋषिकेश उपाध्यायसँग पराजित भएकी थिइन् । २०७४ सालको निर्वाचनमा भने मोरङ–२ मा रिजालले उनै पोखरेललाई हराएका थिए ।
प्रकाशित समय : ०६:५५ बजे



















