गृहपृष्ठ सांसदलाई सपथ खुवाउने तयारीमा जुट्यो संसद सचिवालय
सांसदलाई सपथ खुवाउने तयारीमा जुट्यो संसद सचिवालय
संघीय संसद सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई सपथ दिलाउन गृहकार्यमा जुटेको छ ।
नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट सपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।
कुनै सदस्यले मातृभाषामा सपथ लिन चाहेमा सपथको तीनदिनअघि सपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्यांकअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपाली बाहेकका ११ मातृभाषामा सपथ लिएका थिए । उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपाल भाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा सपथ लिएका थिए ।
सचिवालयले सपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रूपैयाँको लागतमा तयार भएको हो । सपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।
सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय : ११:०३ बजे


















