प्राइम कमर्सियल बैंकको नाफामा सामान्य वृद्धि
वि.सं.२०७७ साउन ३१ शनिवार ०१:४५
shares

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
कन्काई विकास बैंक र कैलास विकास बैंकलाई आफूमा गाभेको प्राइम बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले समीक्षा अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।
यो अविधमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेको छ । समीक्षा अवधिमा बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत असार मसान्तसम्ममा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।
वित्तीय विवरणअनुसार चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड रुपैयाँ छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी १६.३९ रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षको भन्दा कम हो ।

























