गृहपृष्ठ पीसीआर मेसिन र भेन्टिलेटर थप्ने प्रदेश २ सरकारको तयारी
पीसीआर मेसिन र भेन्टिलेटर थप्ने प्रदेश २ सरकारको तयारी
प्रदेश २ सरकारले प्रत्येक जिल्लामा पीसीआर मेसिन तथा आइसीयू सेवासहितको भेन्टिलेटर जडान गर्ने तयारी गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरका निर्देशक डा. प्रमोद कुमार यादवले महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालमा चार वटा भेन्टिलेटर मेसिन थपिएको जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकार मातहतमा रहेका आठ वटै जिल्लाका अस्पतालहरुमा ३ वटाको दरले भेन्टिलेटर जडान गर्ने तयारी गरिएको र अन्य जिल्लाहरुमा समेत दुई हप्ताभित्र पीसीआर मेसिन जडान गरिने उनले बताए ।
प्रदेश २ सरकारले हालसम्म धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीको राजविराज र रौतहटको गौरमा रियल टाइम पीसीआर मेसिन जडान गरिसकेको छ । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा केन्द्रीय सरकारको लगानीमा पीसीआर मेसिन जडान गरिएको छ भने अन्य उपकरणहरुमा प्रदेश २ सरकारले समेत सहयोग गरेको छ ।
सरकारले पीसीआर मेसिन खरीद तथा व्यवस्थापन गर्नका लागि मात्रै सवा करोड रकम निकासा गरेको थियो । निर्देशक यादवका अनुसार गत आर्थिक वर्षमै भेन्टिलेटर खरिद गर्ने तयारी गरिएको थियो । प्रक्रिया नमिलेर भेन्टिलेटर खरिदमा ढिलाई भएको उनले बताए ।
प्रकाशित समय : ००:४३ बजे



















