गृहपृष्ठ ‘सुकुम्वासी समाधान आयोगका पदाधिकारी हौं’ भन्दै ठगी, ८ जना पक्राउ
‘सुकुम्वासी समाधान आयोगका पदाधिकारी हौं’ भन्दै ठगी, ८ जना पक्राउ
‘नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं’ भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका- ५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका- ९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका- १४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका- ४ राफु घर भएका ३० वर्षीय रमेश कुमार परियार, सोही महानगरपालिका- १४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका- ९ बाँसगढी घर भएका ३५ वर्षीय ओम बहादुर सुनार, पोखरा महानगरपालिका- १३ बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका- ३ एक्ले घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका- १७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका- १३ बाँझपाटन बस्ने २७ वर्षीया सिता सुनार, पोखरा महानगरपालिका- १३ मियापाटन बस्ने ५० वर्षीय हर्क बहादुर बिक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदासंकर रहेका छन् ।
उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका- १४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका- १३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका- १७ बाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरुलाई भर बिश्वास दिलाई पोखरा महानगरपालिका- १४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनी रकम उठाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ, बिभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, बिभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, बिभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित समय : ००:१९ बजे




















