गृहपृष्ठ सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने
सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने
सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी ६० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा १४ असारसम्ममा आवेदन दिनुपर्ने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २४ असारसम्म लम्बिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १८:४३ बजे



















