गृहपृष्ठ आयोजना आसपासका बासिन्दाका लागि पिपुल्स पावरको आईपीओ आउँदै
आयोजना आसपासका बासिन्दाका लागि पिपुल्स पावरको आईपीओ आउँदै
पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता १०० अंकित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो ।
कुल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडाबाहेक इलाम जिल्लाका बासिन्दाले आगामी असार २२ गतेसम्म चार लाख ४२ हजार ८२० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन ५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि पुनः आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आईएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मंगलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी इस्यूअर’ रेटिङ प्रदान गरेको छ ।
प्रकाशित समय : १८:४२ बजे




















