गृहपृष्ठ साकोस शिखर गोष्ठी : असार मसान्तभित्र कोपोमिसमा आवद्ध हुने प्रतिवद्धता
साकोस शिखर गोष्ठी : असार मसान्तभित्र कोपोमिसमा आवद्ध हुने प्रतिवद्धता

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामा काठमाडौंमा जारी २ दिने 'चौथो साकोस शिखर गोष्ठी २०७९' सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीको उपस्थिति थियो । नेपाल सरकारको समेत सह-आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गरेको छ ।
बचत तथा ऋण सहकारी संस्था (साकोस)मार्फत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ । ‘दिगो एवं एकीकृत सञ्जालका लागि नवीनतम् साझा प्रविधि’ मूल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँच वटा सामूहिक र चार वटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आइतबार शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका थिए ।
‘सहकारी ऐन २०७४’ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रवर्द्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामूहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्धता जनाएका छन् । त्यस्तै एकीकृत सूचना प्रणाली (कोपोमिस)मा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाए ।
सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवं व्यवस्थापनको लागि संस्थागत रुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनअनुसार १० करोडभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले ‘गोएएमएल’ सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।
नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गरे । जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिक दलहरुले समेत प्रतिवद्धता जनाएको उनले बताए । सहकारी सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्ने समेत उनको धारणा थियो ।
प्रकाशित समय : १९:३४ बजे