कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक
वि.सं.२०८३ मंसिर ७ सोमवार १८:१५
shares

मुस्ताङ । समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्या आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ ।
पछिल्लो केहीवर्ष यता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ । जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटकहरु कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिए । सडकमार्ग हुँदै कोरला नाका आएका पर्यटकहरुको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको सशस्त्र प्रहरी निरीक्षक धितालले जानकारी दिए ।
भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल सुरु हुन थालेको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरु उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।
हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ । नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ । यद्यपि अत्यधिक चिसोको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेका छन् ।
गर्मीयाममा भने कोरला नाका अवलोकन गर्ने उल्लेख्ख सङ्ख्यामा पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् । कोरला नाका अवलोकन गर्न पुगेका पर्यटकहरुले नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित २४ नं सिमास्तम्भ नजिक फोटो भिडियो र टिकटक आदि बनाउने गर्छन् । हिउँदयामको मौसममा कोरला नाकामा पर्यटक तथा व्यापारिक चहलपहलको रौनक देखिन्छ ।
कोरला नाकामा पर्यटक लक्षित करिब १०० बढी त्रिपालमुनि व्यापार गर्न बसेका स्थानीयहरु छन् । उनीहरु दैनिक आलोपालो सवारी सङ्ख्याको अनुपात मिलाएर नाकामा आएका पर्यटकहरुलाई चिनियाँ सामान बिक्री गर्ने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले कोरला नाकाको सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएकाले सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकहरुलाई निकै असहज भएको छ ।
कोरला नाका अवलोकन गर्न आउने पर्यटकहरुले चीनतर्फको ठूला–ठूला भौतिक संरचना देखेर खिन्न हुने गर्छन् । नेपालतर्फ भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुख्खा बन्दरगाह एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक प्रतिष्ठानका पूर्वाधार नहुँदा नेपालतर्फको व्यवस्थापनमा चुनौती बनेको छ ।
कोरला नाकामा विद्युत्, इन्टरनेटको सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या देखिएको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले दुखेसो सुनाए । नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था गरिएको भए पनि अझै कोरलानाकामा खानेपानीको समस्या यथावत रहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पहुँच पुर्याएपनि नाकामा विद्युत् वितरण हुन नसकेकाले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीहरुलाई समस्या रहेको उनको भनाइ छ ।

























