बेँसीसहर-चामे सडकखण्ड आजदेखि सञ्चालन
वि.सं.२०७८ चैत १५ मंगलवार २३:२५
shares

लमजुङ र मनाङ जोड्ने डुम्रे-बेँसीसहर-चामे सडकखण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको ढलान पूर्णरुपमा 'सेट' नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो ।
पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका-९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुन: काठेपुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठेपुलसमेत बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो ।

























