बाँकेमा सात तेस्रोलिंगी मतदाता
वि.सं.२०७८ चैत १५ मंगलवार २३:३७
shares

आगामी स्थानीय तहको निर्वाचनमा बाँकेका सात तेस्रोलिंगी मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन् । ती मध्ये नेपालगञ्ज उपमहानगरपालिकाका चार, कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारी र खजुरा गाउँपालिकामा एक-एक रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।
त्यसैगरी बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । तीमध्ये पुरुष एक लाख ६७ हजार ३४९ छन भने महिला एक लाख ६२ हजार ११७ रहेको कार्यालयले जनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनताका जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकामा यस वर्ष करिब ८० हजार मतदाता थपिएका जनाइएको छ । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छ । मतदाता संख्यामा बढेकाले ५२ मतदान केन्द्र पनि बढेको सूचना अधिकारी पन्तले बताए । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

























