प्रहरीमाथि गोली चलाएका भारतीय गाँजा तस्कर जवाफी कारबाहीमा मारिए
वि.सं.२०७८ फागुन १२ बिहीवार १६:१९
shares

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति करिब सात/आठ जनाको समूहले पाँच वटा प्याकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गएकाे थियाे ।
गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका-२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेरर नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको हाे ।
कम्मरमा गोली लागि घाइते भएका भारतीय नागरिकलाई उपचारका लागि कलैया अस्पताल लगिएकाेमा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको थापाले बताए ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए । मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

























