काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘शरीरको संरचनाअनुसार पनि मानिस शाकाहारी प्राणी हो’

25.6K
shares

नेपाल शाकाहारी संघको स्थापना २०६४ साल भदौ १३ मा भएको हो । समाजमा भएको पशु हिंसालाई रोक्ने र मानिसलाई शाकाहारी बन्न प्रेरित गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो । यसै उद्देश्यअनुरुप संस्थाले हालसम्म विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहको छ । संघका वर्तमान अध्यक्ष कृष्ण गुरुङ रहेका छन् । उनी पेशाले आर्ट डिजाइनरसमेत हुन् । संस्थाको वर्तमान अवस्था, भावी योजना, शाकाहारी जीवनका फाइदा र नेपालमा हाल शाकाहारी जीवनशैलीको अवस्थाबारे अध्यक्ष गुरुङसँग न्युज कारोबार डटकमका लागि सिर्जना फुयालले गरेको कुराकानी :


संस्थाको उद्देश्यअनुसार हालसम्म के-के गर्नु भयो ? अबको योजना के छ ?

हामी संस्थाको योजनाअनुसार अगाडि बढिरहेका छौं । यसबीचमा विभिन्न विद्यालयमा गएर शाकाहारी जीवनसम्बन्धी चेतनामुलक कार्यक्रमहरु गरेका छौं । त्यस्ता चेतनामुलक कार्यक्रममा हामी आफैँमात्र नगएर विज्ञहरु पनि लैजान्छौं । विज्ञहरुले नै शाकाहारी जीवनका फाइदाबारे विद्यार्थीहरुलाई जानकारी दिनुहुन्छ । हामीले महिनाको एकपटक ‘भेज हाइकिङ’ र बेला-बेलामा पिकनिक जाने गरेका छौं । यसका साथै हामी मन्दिर लगायतका सार्वजनिक स्थलहरुको सरसफाइ गर्ने कामहरु पनि विभिन्न अवसरमा गर्दै आएको छौं ।

हामी अब वल्र्ड भेगान अर्गनाइजेसनसँग मिलेर को-पार्टनरको रुपमा भेज फेस्टिभल आयोजना गर्न गइरहेका छौं । उक्त फेस्टिभल आगामी सेप्टेम्बर १५-१७ मा काठमाडौं र सेप्टेम्बर १८-२० मा भुटानको थिम्पुमा आयोजना हुने भएको छ । कार्यक्रममा विभिन्न देशका मानिसले टिकट बुकिङ गरिरहेका छन् । यसैको तयारीमा लागेका छौं ।

संस्थाको आयस्रोत के हो ? संस्था कसरी चलाइरहनु भएको छ ?

कुनै कार्यक्रम गर्दा मानिसहरू आफ्नो खुशीले सहयोग दिने र सदस्यहरु आफैँले व्यवस्थापन गर्ने भनेका छन् । संस्था यसरी नै चलिरहेको छ । खासमा ठूलो खर्च हुनेगरी कार्यक्रम पनि गरिरहेका छैनौं । सानोतिनो खर्च आपसी सरसहयोगबाटै जुटाउने हो ।

संस्थामा को-को आवद्ध हुन पाउँछन् ? आवद्ध हुन के-कस्ता सर्तहरु पालना गर्नुपर्छ ?

हाम्रो संस्थामा सबै किसिमका मानिसहरु आवद्ध हुन पाउनुहुन्छ । मांसाहारी, शाकाहारी सबैजना संस्थामा हुनुहुन्छ । हामीले तीन किसिमका सदस्यता वर्गीकरण गरेको छौं । साधारण सदस्य लिन चाहानेका लागि पाँच सय रुपैयाँ शुल्क लाग्छ । आजीवन सदस्य बन्नेले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । यसका साथै हामी समर्थक सदस्य पनि बनाउँछौं । यो चाहिँ कस्तो भने, आफू मांसाहारी भएर पनि हाम्रो अभियानलाई समर्थन गर्ने जोकोही यस्ता सदस्य बन्न सक्नुहुन्छ । हामीकहाँ समर्थक सदस्य पनि धेरै नै हुनुहुन्छ ।

शाकाहारी अभियानसम्बन्धी काम गरिरहँदा मानिसहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

अहिलेसम्म राम्रै प्रतिक्रिया पाइरहेका छौं । नयाँ पुस्तालाई बुझाउन सजिलो हुन्छ । उनीहरु आफूलाई शाकाहारीमा परिवर्तन नै गरिनहाले पनि यसका फाइदाहरुबारे सहजै बुझ्छन् । यसको तुलनामा पुरानो पुस्ताकाहरुलाई बुझाउन अलि गाह्रै हुने गर्दछ । उहाँहरुले बुझ्ने प्रयास नगरेर पनि होला । तर, कतिपय मानिसले हाम्रो कुरा सुनेपछि मांसहार जीवन त्याग गरेका पनि छन् । 

के शाकाहार जीवन जिउने मानिस तुलनात्मक रुपमा बढी स्वस्थ रहन्छ त ?

बिल्कुलै रहन्छ । किनभने शाकाहारी बन्नु भनेको राम्रो कुरा हो । शाकाहारी भनेको एउटा जीवनशैली हो । हामीले शाकाहारी जीवनशैली परिवर्तन गर्दा मांसाहारी जीवनभन्दा स्वस्थ हुने गर्दछौं । मानिसको शरीरको संरचनाअनुसार मानव फलाहारी (शाकाहारी) प्राणी हो । फलफूल र अन्नको पुग्दो मात्रा खायौं भने शाकाहारी जीवन तुलनात्मक हिसाबले स्वस्थ हुन्छ ।

मानिस किन शाकाहारी हुने ?

हामीले पशुलाई न्याय दिनुपर्छ । उनीहरुलाई पनि हामीलाई जस्तै बाँच्ने रहर हुन्छ । सबै प्राणीको मन एकै हो । सबैलाई बाच्न पाउने अधिकार उत्तिकै हुन्छ । यो मैले र मेराे संस्थाले जनावरप्रति गरेकाे न्याय हो । अर्को महत्वपूर्ण कुरा के हो भने, माछा मासुको विकल्प अरु धेरै किसिमका खानेकुरा छन् । माछामासु नै नखाइ नहुने भन्ने केही छैन ।

तर, हामी कसैलाई पनि शाकाहारी बन्नुपर्छ भनेर जोडबल गर्दैनौं । किनभने मानिस आफूले नै बुझेर जीवनशैली रोज्ने हो । आफ्नो जीवनशैली रोज्ने अधिकार हरेकसँग सुरक्षित हुन्छ । हामी त केवल अभियान सञ्चालन गर्ने हो । फाइदा र सकारात्मक पक्षबारे जानकारी दिने हो ।