अवैध कल सेन्टर सञ्चालक गरेकाे अभियाेगमा चिनियाँ नागरिकसहित ८० जना पक्राउ
वि.सं.२०७८ फागुन १० मंगलवार २३:१३
shares

सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले भारतीय मुलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजारसम्म सानो-सानो मात्रामा ऋण लगानी गर्ने गरेका थिए । निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउनेजस्ता कार्य संचालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएकाे थियाे । साेही सूचनाकाे आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।
उक्त कार्य सञ्चालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

























