स्थानीय तह पदावधि र निर्वाचनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
वि.सं.२०७८ फागुन १० मंगलवार १५:५६
shares

वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेशी आजलाई तोकिएको छ।
२०७४ मा असोजमा निर्वाचित भएकाहरुको हकमा संविधानले तोकेको पाँच वर्षे कार्यकाल नपुग्ने भन्दै वैशाख ३० मा तोकिएको निर्वाचन संविधान विपरित हुने उनको जिकिर छ ।
संविधानको धारा २१६ को उपधारा ६ मा नगरपालिकाका मेयरको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । आफू ७ असोज २०७४ मा निर्वाचित भएकाले ६ असोज २०७९ सम्म निर्वाध रुपमा ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने उनको माग छ । उनले निवेदनमा भनेका छन्, ‘उक्त पाँच वर्षे पदावधि कार्यकालमा कुनै किसिमले कटौती गर्ने घटाउने काम कारवाही नगर्नु नगराउनु भनी आदेश जारी गरी पाउँ ।’
उनले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था देखाई आफ्नो पदावधि कटौती हुने शंका गरेका हुन् । उक्त धारामा चरणवद्ध रुपमा निर्वाचन भएमा पहिलो चरणको निर्वाचनलाई आधिकारिक मानिने उल्लेख छ ।

























