गृहपृष्ठ स्वास्थ्यकर्मीमाथि रोकिएन आक्रमण, हुम्लामा शिक्षकबाट अहेब कुटिए
स्वास्थ्यकर्मीमाथि रोकिएन आक्रमण, हुम्लामा शिक्षकबाट अहेब कुटिए
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।
संक्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजकसमेत रहेका अहेब कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको ? भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको अहेब बुढाले बताएका छन् ।
सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिएका छन् ।
घटनाबारे पुष्टि गर्दै गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाहीले दुवै पक्षलाई राखेर छलफल भइरहेकाे जानकारी दिइन् । 'स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकै हाे । अहिले अध्यक्ष ज्युले दुवै पक्षलाई राखेर छलफल गरिरहनु भएकाे छ,' उनले न्युज काराेबारलाई बताइन् । उपाध्यक्ष शाहीका अनुसार अत्यन्तै आत्तिने स्वभावका आराेपी शिक्षक राेकायाले संक्रमित श्रीमतीलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइदिन भनिरहेका थिए । त्यसपछि स्वास्थ्यकर्मी पठाएर संक्रमितकाे अवस्था बुझ्न लगाएकाे र अवस्था सामान्य रहेकाे जानकारी पाएकाे उपाध्यक्ष शाहीले बताइन् ।
घटनाकाे विषयमा उपाध्यक्ष शाहीले दुख व्यक्त गरिन् । उनले भनिन्, 'यस्ताे बेला स्वास्थ्यकर्मी नभए हामी केही गर्न सक्दैनाैं । उहाँहरू घरपरिवारदेखि टाढिएर संक्रमितकाे उपचारमा अहाेरात्र खटिनु भएकाे छ । स्वास्थ्यकर्मीहरूकाे हाैसला बढाउनु पर्ने समयमा यस्ताे दुखद घटना घट्याे,' उनले भनिन् ।
प्रकाशित समय : २०:०१ बजे


















