गृहपृष्ठ फौजी किराको फैलावटले ओखलढुंगाका किसान समस्यामा 

फौजी किराको फैलावटले ओखलढुंगाका किसान समस्यामा 

फौजी किराको फैलावटले ओखलढुंगाका किसान समस्यामा 

ओखलढुंगामा कोरोनाको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप परेपछि थप चिन्तित बनेका छन् । किसानलाई यतिबेला कोरोना भन्दा फौजी किराको आतंक खपिनसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७ माम्खाको डाँडागाउँका किसान कृष्णकुमार राईले बताए ।

खेतबारीमा लगाएको बाली नष्ट गर्ने फौजीले यसवर्ष नराम्ररी दुःख दिएको उनको भनाई छ । ओखलढुंगा र आसपासका जिल्लाका किसानलाई केही वर्षयता निरन्तर फौजी किराले सताउँदै आएको छ । लिखु, दुधकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बढी फैलिएको फौजीको असर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ । विगतमा फौजी आंतक रोक्न किसानले विषादी प्रयोग गर्ने भएपनि यसवर्ष कोरोना कहर रोक्न जारी निषेधाज्ञाका कारण किन्न पाएका छैनन् । बेलैमा उपचार नहुँदा मकैको गुबोमा किरा खोजेर हातैले मार्न थालिएको मानेभञ्याङ गाउँपालिका वडा नं ५ धिम्लेका टिक बहादुर श्रेष्ठको भनाई छ । 'यसरी मारेर के साध्य हुन्थ्यो होला र,' उनले भने । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैबाली कामै नलाग्ने बनाएको छ । फौजीले आतंक मच्चाएका क्षेत्रका किसान मकैबारी फेरि जोतेर अर्को बाली लगाउनुपर्ने बाध्यतामा पुगिसकेका छन् ।

बाली विज्ञान तथा संरक्षण विभागले अमेरिकन फौजी किराको लागि तीन किसिमका विषादी सिफारिस गरेको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगा र स्थानीय तहहरुले फौजी किरा नियन्त्रण गर्नको लागि विषादी पठाए पनि मोलुङ गाउँपालिकाको वडा नं १ कुन्तादेवीका कृषकहरुले भने फौजी किरा नियन्त्रण गर्नको लागि कुनै पनि औषधि पाएका छैनन् । स्थानीय तहको कृषि शाखा र गाउँपालिकालाई पटक पटक गुहारे पनि कसैले नसुनेको स्थानीय अर्जुन धमलाको गुनासो छ । प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै ओखलढुंगामा १२ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार सो क्षेत्रफलमध्ये हालसम्म सिद्धिचरण नगरपालिकासहित जिल्लाको चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी र लिखु गाउँपालिकाका करिब ३ हजार १ सय हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप फौलिसकेको छ ।

कोरोनाको कहरमा फौजी किरा प्रकोप तीव्र रुपमा फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न जिल्लाको सबै स्थानीय तहलाई विषादी पठाइसकेको र समस्यामा परेर कार्यालयमा आउने कृषकलाईसमेत वितरण गरिने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आलेले बताए । 'ज्ञानकेन्द्रले कोरोनाको बेलामा पनि किसानको सेवा गरिरहेको छ । टेलिफोनबाटै प्राविधिक सल्लाह दिईरहेका छौं ।' प्रमुख आलेले भने, 'फौजीले धेरै नै दुःख दिएको छ । यसको नियन्त्रणका लागि स्थानीय तहमार्फत औषधि त पठाएका थियौं । सबै किसानमाझ पुगेन होला । फेरि पनि समस्यामा परेका किसानलाई हामी सहयोग गर्छौं ।' फौजीको फैलावट बेलैमा नियन्त्रण गर्न नसके झन समस्या आउने आलेको भनाई छ ।

कृषि प्राविधिकका अनुसार फौजी किराको आयु १२ दिनसम्मको हुन्छ । यो दिन भन्दा रातमा सक्रिय हुन्छ । यसको वयस्क किराले एक पटकमा २४ सय वटासम्म फुल पर्ने गर्दछ । विकासक्रम पनि तीव्र हुने भएकाले यो चाँडै फैलने गर्दछ । एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा मध्यम चरणमा पुगेको अवस्थामा भने नियन्त्रण गर्ने उपाय छैन । गुबो र डाँठ जोगिएका मकै भने औषधि प्रयोग गरेर जोगाउन सकिने कृषि विज्ञहरु बताउँछन् ।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु