गृहपृष्ठ सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख
सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनस्र्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ।
भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद् प्रभावित सहकारी संस्थाहरूलाई सहयोग गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार विपद्का कारण सहकारी संघसंस्थाका अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। उक्त अवस्थालाई मध्यनजर गर्दै विनियोजन गरिएको २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डबमोजिम वितरण गरिनेछ।
यसैगरी, बाढीपहिरोबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्तजन अझै सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीहरूले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५ सय रुपैयाँ संकलन गरेका छन्। संकलित रकमबाट प्रभावित तीन जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत प्रदान गरिएको बैंकले जनाएको छ।
प्रकाशित समय : ११:२४ बजे


















