गृहपृष्ठ जसपा नेपालको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, उठेका प्रश्नमा अध्यक्ष यादवको जवाफ
जसपा नेपालको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, उठेका प्रश्नमा अध्यक्ष यादवको जवाफ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक तेस्रो दिन बिहीबार पनि जारी रहेको छ।
ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा बिहान ११ बजेदेखि सुरु भएको बैठकमा कार्यकारिणी समिति सदस्यहरूले उठाएका जिज्ञासा, सुझाव तथा राजनीतिक प्रश्नमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवले जवाफ दिइरहेका छन्।
दुई दिनभित्र सम्पन्न गर्ने गरी मंगलबारदेखि सुरु भएको बैठक विषयवस्तुमाथिको सघन छलफल र विभिन्न सवालमा सहमति जुटाउन समय लागेपछि तेस्रो दिनसम्म लम्बिएको हो।
अध्यक्ष यादवको सम्बोधन तथा सदस्यहरूले उठाएका विषयमा स्पष्टीकरणपछि बैठकले आवश्यक निर्णय पारित गर्दै बिहीबार साँझसम्ममा सम्पन्न गर्ने तयारी गरेको पार्टीले जनाएको छ।
पार्टी महासचिव डा. सुरेन्द्रकुमार झाका अनुसार बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, प्रदेशदेखि स्थानीय तहसम्मको सांगठनिक समायोजन तथा भ्रातृ संगठनहरूको व्यवस्थापनसम्बन्धी प्रस्तावमाथि विस्तृत छलफल भएको छ।
त्यस्तै, समान विचार भएका राजनीतिक शक्तिहरूसँग सहकार्यका लागि अघि सारिएको अग्रगामी मोर्चाको स्वरूप र त्यसको आधारबारे पनि कार्यकारिणी समिति सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्।
बैठकले पार्टीको संसदीय बोर्ड गठन, कार्यकारिणी समिति सदस्यहरूको कार्यविभाजन तथा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो र अन्य विपद्बाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग परिचालनका विषयमा पनि ठोस निर्णय लिने तयारी गरेको छ।
संगठनलाई पुनर्संरचना गर्दै आगामी राजनीतिक यात्राको स्पष्ट कार्यदिशा तय गर्ने उद्देश्यसहित बसिरहेको बैठकबाट आवश्यक निर्णय सार्वजनिक गर्ने जसपा नेपालले जनाएको छ।
प्रकाशित समय : १४:१४ बजे


















