गृहपृष्ठ प्रधानमन्त्री राहत कोषमा होटल संघ नेपालको सहयोग
प्रधानमन्त्री राहत कोषमा होटल संघ नेपालको सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न होटल संघ नेपाल (हान) का सदस्य होटलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन् ।
संघले बेपत्ता नागरिक र पर्यटकका आफन्तका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था समेत मिलाएको जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक र पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार छिट्टै टुंगिने आशा व्यक्त गरेको छ । संघका अनुसार सदस्य होटलहरूको सहयोगमा हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य रकम जम्मा भएको छ । सबैभन्दा बढी होटल किङ्सबेरीले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ भने चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार रुपैयाँ, होटल मेची क्राउनले २६ लाख रुपैयाँ र एभरेष्ट होटलले २० लाख रुपैयाँ प्रदान गरेका छन् ।
त्यसैगरी रामडा इन्क्योर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ, अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाले ५ लाख ११ हजार १११ रुपैयाँ, ड्रिम ग्रुप बुटवलले ५ लाख ३ हजार रुपैयाँ र होटल सारथीले १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
होटल एम्बासडरले १ लाख, क्लब हिमालयले १ लाख, होटल संघ नेपाल सिन्धुलीले १ लाख ४ हजार २८५ रुपैयाँ सहयोग गरेको छ । केही होटलका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा राहत कोषमा योगदान गरेका छन् ।
संघले आफ्नै राहत कोषमा एयरपोर्ट होटल, ग्रान्ड होटल, होटल स्वागतम, होटल रेनफरेस्टलगायतबाट प्राप्त रकमसमेत संकलन गरी प्रभावित क्षेत्रमा परिचालन गरिने जनाएको छ ।
रकम सहयोगसँगै कतिपय सदस्य होटलहरूले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र र सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेको संघले जनाएको छ ।
बाढीपछि बेपत्ता भएका नागरिक र पर्यटकका आफन्तलाई सहयोग गर्न संघले प्रदेश तथा जिल्ला होटल संघहरूसँग समन्वय गरी निःशुल्क बसोबास र खानपानको व्यवस्था मिलाएको जनाएको छ । नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको सहायता केन्द्रमार्फत बेपत्ता पर्यटकका परिवारलाई सूचना, समन्वय र आवश्यक व्यवस्थापनमा समेत सहयोग गरिरहेको संघले उल्लेख गरेको छ ।
विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक तथा पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्न होटल संघ नेपालले निकट भविष्यमा विशेष प्रार्थना सभा आयोजना गर्ने पनि जनाएको छ ।
प्रकाशित समय : १४:१५ बजे


















