गृहपृष्ठ संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन
संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य स्थानमा फसेकाको तत्काल खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो । समितिले बाढीबाट अवरुद्ध सडक सञ्जाल तत्काल पुनःसञ्चालन र क्षतिग्रस्त सडक तथा पुलको शीघ्र मर्मत अघि बढाउनसमेत निर्देशन दिएको छ ।
समितिका सभापति आशिष गजुरेलले पुल तथा सडकलगायत स्थायी संरचना निर्माणमा समय लाग्ने भएमा वैकल्पिक मार्ग तथा अस्थायी पुलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
उनले बाढीबाट अवरुद्ध विद्युत् लाइन तथा संरचनाको तत्काल मर्मत गरी विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बताए ।
बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
समितिले दातृ निकायबाट प्राप्त सहयोगलाई एकीकृत र पारदर्शी रूपमा परिचालन गर्दै सुरक्षित, दिगो तथा विपद्–प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सरकारलाई निर्देश गरेको छ ।
बैठकले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना तथा पूर्वचेतावनी प्रणालीलाई आधुनिक प्रविधिसहित थप सुदृढ र स्थानीय तहसम्म क्रियाशील बनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
समितिले प्रभावित क्षेत्र, परिवार तथा व्यक्तिको यथार्थ विवरण तत्काल अद्यावधिक हुनेगरी एकीकृत सूचना प्रणाली विकास गर्न भनेको छ । बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य आवश्यक सहयोग तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रकाशित समय : १४:३२ बजे


















