गृहपृष्ठ भोटेकोशी बाढी प्रभावितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गरेको छ।

संघको भदौ १५ गते बसेको बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, बाढीमा परी बेपत्ता भएकाहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय गरेको छ।

संघले बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

दैवी विपत्तिमा परेका नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा कम्पनीहरूले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै संघ तथा यसमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्।

भदौ १७ गते संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

सहयोग गर्ने संस्थाहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको २६ लाख २३ हजार १८ रुपैयाँ बराबरको सहयोग रकमसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ।

संघका अनुसार एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। बाँकी कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेका छन्।

सहयोग रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरूले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

संघले विपत्तिबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु