एनआइसी एशिया लघुवित्तले ब्याज रकमको १५% सम्म छुट प्रदान गर्ने
वि.सं.२०७८ जेठ १९ बुधवार ०२:३६
shares

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीलाई कुल ब्याज रकममा छुट प्रदान गर्ने भएको छ । भाखा नाघेका ऋणी सदस्यहरुलाई यही जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेष्ठ १८ गतेदेखि जेष्ठ ३१ गतेसम्ममा चुक्ता गरेमा कुल ब्याज रकमको ८% देखि १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।
यस वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/०७७ मा समेत आफ्ना ग्राहकहरुलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आवमा संस्थाले ९ करोड ३३ लाख २ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो । ग्राहकमैत्री संस्थाको अवधारणाअनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ । संस्थाले यसपटक पनि कोभिड- १९ को कारणले सिर्जित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको जनाएको छ ।
गत महिनामा समेत २०७८ को वैशाख २४ देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ वैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको बक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १०% छुट प्रदान योजना लागू गरी सो अनुसार बक्यौता तिर्ने १७९ शाखा कार्यालयहरूका ४ हजार ६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुटबापत प्राप्त गर्ने रकम १५ लाख १८ हजार २०२ रुपैयाँ उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको संस्थाले जनाएकाे छ ।

























