कोरोना संक्रमित हुनेभन्दा निकाे हुने धेरै, मृतक संख्या तीन हप्तायताकै कम
वि.सं.२०७८ जेठ १९ बुधवार ०२:१९
shares

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पीसीआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआरमार्फत ५ हजार २८५ र एन्टिजेनमार्फत ८०० संक्रमित पुष्टि भएको हो ।
यस्तै हाल देशभर एक लाख ४ हजार ७८९ सक्रिय संक्रमित छन् । मन्त्रालयको अनुसार सोही अवधिमा देशभर ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ छ ।
पछिल्लाे केही दिनयता नेपालमा काेराेना कारण हुने मृत्युमा कमी आइरहेकाे छ । नेपालमा गत २४ घण्टाभित्र काेराेनाबाट ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यो संख्या २३ दिनयताकै सबैभन्दा न्यून हो । कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेसँगै नेपालमा दैनिक २०० जनाको हाराहारीमा मृत्यु हुँदै आएको थियो ।
यसअघि वैशाख २६ मा ८८ जनाको मृत्यु भएको थियो । त्यसयता दैनिक १०० जनाभन्दा बढीको मृत्यु हुँदै एकै दिन २४६ सम्म पुगेको थियो । मन्त्रालयकाे तथ्यांकअनुसार जेठ गते अहिलेसम्मकै सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियाे ।

























