बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तमको ईपीएस ५२ रुपैयाँ
वि.सं.२०७७ फागुन १९ बुधवार २०:४५
shares

प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ छ । कम्पनीले तीन आर्थिक वर्षमा गरेको खुद नाफालाई औसतमा निकाल्दा ईपीएस ५२ रुपैयाँ देखिएको हो ।
आर्थिक वर्ष २०७४/७५ मा ५८.२५ प्रतिशत, ०७५/७६ मा ५९.१८ प्रतिशत र ०७६/७७ मा ३९.३ प्रतिशत ईपीएस थियो । गत वर्ष कोरोनाभाइरस महामारीका कारण लामो समय उत्पादन र व्यापार ठप्प भएकाले खुद नाफासँगै ईपीएस प्रभावित भएको हो ।
हालसम्मको आम्दानी र आगामी प्रक्षेपण विश्लेषणलाई आधार बनाएर प्रिमियम दरमा आईपीओ ल्याउन लागेको कम्पनीले जनाएको छ । चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको औसत वार्षिक खुद नाफा १ अर्ब ४ करोड रुपैयाँ छ ।
प्रतिकूल अवस्थाका बावजुद आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट व्यापार गरेको थियो । २०७७ पुस मसान्तसम्ममा कम्पनीको रिजर्भ कोषमा २ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ ।
सर्वोत्तमले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट सेयर बिक्री गर्ने भएको छ । न्यूनतम् ७५० रुपैयाँ मूल्य राखेर बुक बिल्डिङ विधिबाट सेयर बिक्री गर्न प्रस्ताव गरिएको हो । हालसम्म बुक विल्डिङबाट सेयर जारी भएको छैन ।
कम्पनीले इक्रा नेपालबाट ‘इक्रा इनपी आइआर बीबीबी प्लस’ रेटिङ पाएको छ । यो रेटिङ औसतभन्दा राम्रो मानिन्छ ।

























