सात महिनामा ४ अर्बभन्दा बढीको अलैँची निर्यात
वि.सं.२०७७ फागुन १५ शनिवार १९:४७
shares

वैदेशिक व्यापारमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुख्य नगदेवाली हो अलैँची । अलैँचीबाट नेपालले वार्षिक ५ अर्बको हाराहारीमा आम्दानी गर्छ । पूर्वी पहाडका किसानका लागि पनि आम्दानीको मुख्य आधार बनेको छ अलैँची । पछिल्लो समय निरन्तर निर्यातमा सुधार भएपछि किसानहरु उत्साहित भएका छन् ।
चालू आव २०७७/७८ को पहिलो सात महिनामा मात्रै ५३ लाख ६२ हजार ३३३ केजी अर्थात् ५ हजार १६२ टनभन्दा बढी अलैँची निर्यात भएको छ । गत वर्षको यसै अवधीमा पनि ३५ लाख ८१ हजार ६०५ केजी निर्यात भएको थियो । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालू आवमा साउनदेखि माघसम्म ४ अर्ब २८ करोड २२ लाख १४ हजार रुपैयाँको अलैँची निर्यात भएको छ ।
सोही अवधीमा गत वर्ष २ अर्ब ८७ करोड ८५ लाख ८८ हजार रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनमा यो वर्ष एक अर्ब ४० करोड ३६ लाख २६ हजार रुपैयाँ बढी निर्यात भएको हो ।
त्यस्तै गत वर्ष साउनदेखि असारसम्म ५० लाख १२ हजार ६९४ केजी अलैँची ४ अर्ब १ करोड ९२ लाख १४ हजार रुपैयाँको निर्यात भएको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ ।

























