global ime bank Long Banner Ad

गृहपृष्ठ थारुहट शक्तिलाई एकताबद्ध गर्न विशेष सम्मेलन, अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक

थारुहट शक्तिलाई एकताबद्ध गर्न विशेष सम्मेलन, अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक

थारुहट शक्तिलाई एकताबद्ध गर्न विशेष सम्मेलन, अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक

संविधानमा आफ्ना अधिकारहरु सुनिश्चित गर्नुपर्ने माग राख्दै वर्षौंदेखि संघर्षरत थारु समुदाय फेरि आन्दोलनमा जुट्ने भएका छन् । यसका लागि थारुहट-थारुवान मोर्चाले विशेष सम्मेलनको आयोजना गरेको छ ।

टिकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिएर थुनामा रहेका नेताहरुलाई रिहा गर्नुपर्ने र संविधान संशोधन गरी आफ्ना माग सम्वोधन गर्नुपर्ने मोर्चाको माग छ । २०७२ साल भदौ ७ गते टिकापुरमा भएको घटनामा १ नाबालक र एसएसपीसहित ८ प्रहरीको ज्यान गएको थियो । घटनामा संलग्न रहेको अभियोगमा प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित अन्य थारु नेताहरु कारागार छन् ।

देश संघीयतामा जाने तयारी भइरहँदा तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रलाई नै प्रदेश तोकिनुपर्ने मागसहित एक समूहले ‘अखण्ड सुदूरपश्चिम’को नाममा आन्दोलन सुरु गरेका थिए । त्यससँगै थारु समुदायले कैलाली, कञ्चनपुरसहित बाँके, बर्दियासम्म थारुहट राज्य हुनुपर्ने भन्दै आन्दोलन चर्काए । महिनौँ चलेको आन्दोलनमा कयौँ घाइते भए । आन्दोलनकै क्रममा टिकापुर घटना घटेको थियो । 

सोही घटनामा संलग्न रहेको अभियोगमा हाल थुनामा रहेकाहरुलाई जिल्ला अदालत र उच्च अदालतले समेत न्याय नदिएको भन्दै थारुहट-थारुवान मोर्चाले राजनीतिक नेतृत्वलाई घचघच्याउन लागेको हो । सबै राजनीतिक नेतृत्वलाई दबाब दिन यही फागुन १५ गते थारुहट–थारुवान मोर्चाले कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । 

मोर्चाले बिहीबार हसुलियामा पत्रकार सम्मेलन गरी ‘थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’को तयारी ९० प्रतिशत पूरा भइसकेको जानकारी दिएको छ । आन्दोलनको नयाँ चरणको सुरुवात गर्नु नै सम्मेलनको मुख्य उद्देश्य भएको थारुहट-थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए । उनका अनुसार सम्मेलनमा सम्पूर्ण राजनीतिक दलबाट प्रतिनिधि, मानव अधिकारकर्मी, सांसद, बुद्धिजीविहरु लगायतको सहभागिता रहने छ । ‘सम्मेलनले थारुप्रतिको बुझाइबारे बृहत छलफल गरी निष्कर्षको बिन्दु तय गर्ने छ । १६ गतेको बन्द सत्रमा दलित, खसान, तमुवान, मगरात लगायतको सम्पूर्ण पहिचानवादीबीच छलफल हुन्छ,’ संयोजक थारुले सम्मेलनबारे जानकारी दिए । छलफल दलीय स्वार्थभन्दा माथि उठेर पहिचानको सवालमा केन्द्रित हुने उनको भनाइ छ ।

सम्पूर्ण थारुहट शक्तिलाई एकताबद्ध गर्न सम्मेलनको आयोजना गरिएको आयोजकले बताएको छ । कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने, सडक संघर्ष गर्ने लगायतका अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक हुने पत्रकार सम्मेलनका क्रममा थारु नेताहरुले बताए । सम्मेलनमा सहभागीहरुमाथि प्रशासनले खानतलासी गरे प्रतिकारमा उत्रिनेसमेत उनीहरुले चेतावनी दिएका छन् । मोर्चाका कैलाली जिल्ला संयोजक माधव थारुले शान्तिपूर्ण तरिकाले अब नयाँ चरणको संघर्ष सुरु हुने बताए । उनले भने, ‘हामी १५ र १६ गतेको कार्यक्रम सकेर अन्य संघर्षका कार्यक्रम सार्वजनिक गर्छौं । हामीलाई थारुको मात्रै होइन अन्य उत्पीडनमा परेका वर्गको पनि साथ र समर्थन छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाएर संसद विघटन गर्दा न्यायालयले सही निर्णय गरेर संसद पुनस्र्थापना गरेको भन्दै थारु नेताहरुले धन्यवाद दिएका छन् । अब संविधान संशोधन गरेर सबैका मुद्दालाई समेट्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु