गृहपृष्ठ चालक र सह चालकलाइ विशेष पोशाक
चालक र सह चालकलाइ विशेष पोशाक
![चालक र सह चालकलाइ विशेष पोशाक चालक र सह चालकलाइ विशेष पोशाक](https://archive.newskarobar.com/wp-content/uploads/2018/03/Capture-76.png)
काठमाडौं । यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिने भएको छ । चैत ६ गतेबाट सार्वजनिक सवारीका चालक र सह चालकले अन्य क्षेत्रमा काम गर्ने कर्मचारीले जस्तै पोसाक लगाउनु पर्ने भएको छ । माइक्रोबसबाट सुरु गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले न्युज कारोबारलाई बताए । महाशाखाले सार्जजनिक सवारी चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै पोशाकको व्यवस्था गर्न केहि महिनाअघि देखि नै प्रयास गरेका थिए । उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्मको विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।
चैत ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउने छन् । गर्मी सुरु भएकाले पातला ‘विन्ड चिटर’ लगाउने छन् । व्यवसायीहरुले नै आफ्नै खर्चमा पोशाकको व्यवस्था गर्नेछन् । सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालकबाटै दुब्र्यवहारमा पर्ने गरेका छन् । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिफर्म तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।
‘ड्रेस तोकेपछि यातायात मजदुरको पहिचान सहज हुन्छ । पोशाक लगाएपछि समस्या रहेका चालक र सहचालककको बानी व्यवहारमा सुधार आउँछ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,’ नायक प्रहरी उपरीक्षक मरासिनीले भने,’भीडभाडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । यसले उनीहरुलाई मर्यादा बस्न र जिम्मेवारी बोध गर्न बाध्य पार्छ ।’
उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।
‘अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनी, एयरपोर्टको प्रिपेड ट्याक्सीले चालकका लागि पोशाक तोकेका छन् ।
विकसित देशहरुमा पनि सार्वजनिक सवारी चलाउनेले आफ्नो पहिचानका लागि विशेष पोशाक लगाउने चलन छ । त्यसलाई नेपालमा पनि लागू गर्नुपर्ने पक्षमा ट्राफिक प्रहरी छ ।
सञ्जय श्रेष्ठ
प्रकाशित समय : २०:१४ बजे