global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दलको नेता चयन गर्न राजपालाई सकस

दलको नेता चयन गर्न राजपालाई सकस

दलको नेता चयन गर्न राजपालाई सकस

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । आकांक्षीहरुले अडान नछाड्दा प्रतिनिधिसभा निर्वाचन भएको सात महिना बितिसक्दा पनि राजपाले दलको नेता पाउन सकेको छैन । वर्ष दिनअघि ६ वटा दल एकीकरण भई बनेको राजपामा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले संसदीय दलको नेतामा आकांक्षा देखाएका छन् ।
दुवै नेताले आकांक्षा नत्याग्दा सर्वसम्मत चयन गर्ने प्रयास सफल हुन सकेको छैन । ठाकुरलाई, अध्यक्ष मण्डलका सदस्यहरु मेहन्द्रराय यादव, शरतसिंह भण्डारीको समर्थन छ भने महतोलाई अनिलकुमार झा र राजकिशोर यादवको समर्थन छ ।
पार्टीमा कुनै पनि निर्णय गर्दा अध्यक्ष मण्डलमा सल्लाह अध्यक्ष मण्डलका संयोजक ठाकुरले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट जनाउँदै आएका महतो दलको नेता छाड्ने पक्षमा छैनन् । यता, ठाकुर पनि पार्टीको संयोजक आफू रहेकाले दलको नेता आफैंले लिनुपर्ने अडानमा छन् । अध्यक्षमण्डल संयोजक ठाकुर र सदस्य महतोले संसदीय दलको नेतामा आफ्नो दाबी कायम राखेपछि पटक–पकट तोकिएको पार्टीको राजनीतिक बैठकसमेत बस्दै नबसी स्थगित हुँदै आएको हो ।
संसदीय दल नेतामा सहमति हुन नसकेपछि पटक–पटक तोकिएको बैठक स्थगित हुँदै आएको छ । यसअघि, २५ जेठमा हुने भनिएको राजनीतिक समिति बैठक स्थगित भएपछि सोमबारका लागि बैठक बोलाइएको छ । बैठकमा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने, दलको विधान पारित गर्ने र पार्टी महाधिवेशनको मिति तय गर्ने एजेन्डा रहेको महासचिव केशव झाले जानकारी दिए । ‘सोमबारको बैठकमा आकांक्षी दुईमध्ये एकजनालाई अरु जिम्मेवारी दिने सहमति गरेर जसरी पनि कन्भिन्स गर्दै सर्वसम्मत दलको नेता चयन गर्छौं,’ झाले न्युज कारोबारसँग भने ।
महाधिवेशनको म्याद थप्न आग्रह गर्ने
राजपा राजनीतिक समिति बैठकले महाधिवेशन मिति तोक्ने र महाधिवेशन गर्न निर्वाचन आयोगसँग ६ महिना म्याद थप्नका लागि आग्रह गर्ने नेताहरुले बताएका छन् । ६ दल एकीकरणपछि एक वर्षअघि दर्ता भएको राजपालाई असार ३० गतेसम्ममा महाधिवेशन सम्पन्न गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । राजपाको विधानअनुसार नै आयोगले महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो ।
राजपाको विधानको धारा २२ (१०) मा एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने प्रावधान छ । निर्वाचन आयोगको निर्देशनबारे राजनीतिक समितिको बैठकले आयोगलाई पत्र पठाउनेबारे निर्णय लिने महासचिव झाले बताए ।

प्रकाशित समय : ००:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु